रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपछि राज्य सञ्चालनमा भद्रगोल हुने अवस्थालाई स्वीकार्य नहुने बताएका छन्। उनले राज्य सञ्चालन प्रक्रियामा पटक–पटक गल्ती गर्दै शिक्षा लिएर अर्को पटक सुधार गर्ने छुट नहुने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै मिश्रले असाधारण रूपमा उदाएको राजनीतिक शक्ति र झण्डै दुई तिहाइ जनमतको आधारमा नेतृत्वमा पुगेको रास्वपा अहिले स्पष्ट र औपचारिक रूपमा ‘प्रचण्डवादी’ दिशामा गएको समेत बताएका छन्।
उनले कुनै पनि राजनीतिक दलले केही वर्षका लागि दिने सुशासनभन्दा देशको दीर्घकालीन राष्ट्रिय हित बढी महत्वपूर्ण विषय भएको भन्दै सुशासनको एजेन्डाले मात्र देशका जटिल चुनौतीहरूको समाधान गर्न नसक्ने बताएका छन्।
मिश्रले विश्व राजनीति दिनप्रतिदिन असुरक्षित बन्दै गएको, क्षेत्रीय भूराजनीति थप जटिल बन्दै गएको तथा नेपालको आन्तरिक अवस्था पनि संवेदनशील बन्दै गएको भन्दै यस्तो परिस्थितिमा रास्वपा ‘प्रचण्डपथ’ मा अघि बढे देश लामो समयसम्म शान्त, सुरक्षित, सार्वभौम र अखण्ड रहन नसक्ने दाबी गरेका छन्।
उनले देशमा देखिएको जोखिम न्यूनीकरणका लागि लोकतान्त्रिक व्यवस्थाको ढाँचाभित्र राजसंस्थालाई स्थान दिनुपर्ने आफ्नो पुरानै धारणा दोहोर्याएका छन्।
प्रकाशित: १३ असार २०८३ १२:३६ शनिबार