काठमाडौं निर्वाचन क्षेत्र नम्बर–७ मा चुनावी रौनक विस्तारै बढ्दै छ। दलीय र स्वतन्त्र उम्मेदवारहरु मतदातालाई आआफ्नो पक्षमा पार्न घरदैलो तथा सामूहिक भेटघाटमा लागेका छन्।
कुल मतदाता ६७ हजार ४ सय ११ रहेको यो क्षेत्रमा ६ महिलासहित २७ जना उम्मेदवार छन्। काठमाडौं–७ की निर्वाचन अधिकृत सविता शर्माका अनुसार २७ उम्मेदवारमध्ये ६ जना महिला छन्। महिलामा पाँच स्वतन्त्र र एक जना दलका उम्मेदवार छन्।
उनले भनिन्, ‘उम्मेदवारहरुलाई परिचयपत्र दिने काम कार्यालयले गरिरहेको छ। उम्मेदवारहरु प्रचारप्रसारमा लागेका छन्। १७ जना दलका र १० जना स्वतन्त्र उम्मेदवार छन्। उज्यालो पार्टी नेपालले मात्र महिलालाई उम्मेदवार बनाएको छ। उज्यालो पार्र्टीबाट विमला लामा उम्मेदवार हुनुहुन्छ।’ स्वतन्त्र पाँच महिला उम्मेदवारमा शर्मिला फुयाँल, सविता गमाल, सुजिता श्रेष्ठ, सुमन पुतुवार महर्जन र अन्जला बज्राचार्य छन्।
काठमाडौं–७ मा २८ जनाले उम्मेदवारी दर्ता गराए पनि स्वतन्त्रतर्फका डा. रामशरण थपलियाले फिर्ता लिएको अधिकृत शर्माले बताइन्। यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रमोदहरि गुरागाईं, एमालेबाट प्रकाश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वसन्तप्रसाद मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लालकुमार लामा, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट बाबुराम लामा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट गणेशमाया डंगोल, राष्ट्रिय जनमोर्चाबाट दिर्घकुमार श्रेष्ठ उम्मेदबार छन्।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट अमिनरत्न ताम्राकार, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट गुणबहादुर बन्जारा क्षेत्री, राष्ट्रिय एकता दलबाट विनोद कुमार गुरुङ, जय मातृभूमि पार्टीबाट बैकुण्ठ फुयाँल, श्रम संस्कृति पार्टीबाट मणिरामबहादुर प्रधान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट दिपक मानन्धर, उज्यालो नेपाल पार्टीबाट विमला लामा र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) बाट दिपीन पन्त उम्मेदवार छन्।
यसैगरी स्वतन्त्रबाट अमन श्रेष्ठ, पुष्प बानियाँ, प्रकाश कुँवर, बुद्धिप्रसाद रेग्मी, भरत पौडेल लगायत उम्मेदवार छन्। यो क्षेत्रमा नयाँ/स्वतन्त्र र पुराना पार्टीका उम्मेदवारबिच प्रतिस्पर्धा हुने मतदाता बताउँछन्। यो क्षेत्रबाट २०७९ को निर्वाचनमा रास्वपाका पराजुली निर्वाचित भएका थिए। रास्वपाले अहिले पनि उनैलाई उम्मेदवार बनाएको छ।
काठमाडौं- ७ मा २८ जनाले उम्मेदवारी दर्ता गराए पनि स्वतन्त्रतर्फका डा. रामशरण थपलियाले फिर्ता लिएकाे अधिकृत शर्माले बताइन्।
प्रकाशित: १८ माघ २०८२ ०६:४२ आइतबार