राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई मुलुकको वर्तमान शासकीय स्वरूप परिवर्तन गर्न सुझाव दिएका छन्। संघीयतासहितको धर्मनिरपेक्ष शासन व्यवस्था असफल भइसकेको दाबी गर्दै उनले राजादेखि सबै राजनीतिक दल र नेताहरू अटाउने राष्ट्रिय मेलमिलापको वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
शुक्रबार जनकपुरधाममा राप्रपा धनुषाले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका थापाले विगतका राजनीतिक नेतृत्वले संघीयतासहितको धर्मनिरपेक्ष व्यवस्था सञ्चालन गर्न नसकेको भन्दै अब पुरानै शासकीय संरचनालाई निरन्तरता दिनु उचित नहुने बताए।
प्रधानमन्त्री बालेनलाई विगतका शासकले भोगेको नियति दोहोर्याउने बाटोमा नलाग्न सुझाव दिँदै उनले राजनीतिक व्यवस्थामै परिवर्तनको पहल गर्न आग्रह गरे।
‘चाहेर वा नचाहेर पनि बालेन साहले असफल भइसकेको देशको शासकीय संरचनासहितको स्वरूपलाई नै निरन्तरता दिनु गलत हो,’ थापाले भने, ‘विगतमा नेताहरूले देशका लागि जे नियति भोग्नु परेको थियो, त्यही नियति अहिलेका नेताले पनि भोग्नु नपरोस् भन्ने चाहेकाले प्रधानमन्त्री बालेनलाई आँट गर्दै राजादेखि सबै नेता तथा पार्टी अटाउन सक्ने गरी राष्ट्रिय मेलमिलाप कायम गर्न आह्वान गर्न आग्रह गर्छु।’
उनले आम नेपाली जनताले प्रधानमन्त्री बालेनलाई साथ दिएकाले यही अवसरलाई उपयोग गरेर इतिहासमा अजरअमर हुने निर्णय लिन पनि सुझाव दिए। राजादेखि सबै राजनीतिक दल र नेताहरूलाई समेट्ने राष्ट्रिय सहमतिको बाटो रोज्न सके मुलुकको राजनीतिक समस्याको समाधानमा योगदान पुग्ने उनको भनाइ छ।
थापाले विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले गरेका गल्तीबाट पाठ सिक्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे। पुरानै राजनीतिक अभ्यास र शासकीय संरचनालाई निरन्तरता दिए विगतकै नियति दोहोरिन सक्ने उनको तर्क छ।
राप्रपा अध्यक्ष थापाले संविधानमा मुलुक धर्मनिरपेक्ष र संघीय व्यवस्थामा रहे पनि व्यवहारमा सनातन हिन्दू राष्ट्र र राजतन्त्रको अस्तित्व कायम रहेको दाबीसमेत गरे। सनातन हिन्दू राष्ट्र पुनःस्थापनाको पक्षमा आफूहरू सफल भएको उनको भनाइ थियो।
उनले मुलुक अहिले भ्रष्टाचारको महारोगबाट आक्रान्त रहेको र युवाले देशभित्रै सामान्य रोजगारीसमेत नपाउने अवस्था रहेको बताए। रोजगारीको खोजीमा नेपाली युवा मलेसियाका जंगल र खाडी मुलुकका मरुभूमिमा पसिना बगाउन बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।
राजतन्त्र हटाइएपछि मुलुक अभिभावकविहीन बनेको दाबी गर्दै थापाले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि विदेशी हस्तक्षेप तथा चलखेल रोक्नुपर्ने बताए।
प्रधानमन्त्री बालेनलाई लक्षित गर्दै थापाले दिएको यो सुझावले वर्तमान सरकारको प्राथमिकता, शासकीय स्वरूप र राष्ट्रिय सहमतिबारेको बहसलाई फेरि सतहमा ल्याएको छ। विशेषगरी संघीयता, धर्मनिरपेक्षता र राजसंस्थाको भूमिकाबारे फरक राजनीतिक दृष्टिकोण राख्दै आएका शक्तिहरूबीच नयाँ राजनीतिक संवादको आवश्यकता रहेको उनको सन्देश छ।
प्रकाशित: १३ कार्तिक २०८३ २०:२६ शुक्रबार