राजनीति

अर्थमन्त्रीको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारको धारणा माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसबारे सरकारको धारणा माग गरेका छन्।

एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडेर राष्ट्रवादलाई हेर्ने युग सकिएको बताएका थिए।

वाग्लेको अभिव्यक्तिले नेपाली राष्ट्रियताको अवमूल्यन गरेको टिप्पणी गर्दै थापाले नेपालको राष्ट्रवाद कुनै देशको विरोधमा नभई राष्ट्रिय सार्वभौमिकता र जनताको हितको रक्षामा केन्द्रित रहेको बताएका छन्।

भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहनुका साथै सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको थापाको भनाइ छ। सानो समूहका केही धारणालाई आधार बनाएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित रूपमा व्याख्या गर्नु पूर्वाग्रह भएको उनले टिप्पणी गरेका छन्।

थापाले वाग्लेको अभिव्यक्ति विगतमा अघि सारिएको ‘मुनरो डक्ट्रिन’को प्रभाव त होइन भन्दै प्रश्नसमेत गरेका छन्। जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने र सरकारले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको माग छ।

प्रकाशित: ७ कार्तिक २०८३ २०:०२ शनिबार