राजनीति

कैलाली कारागार घटना: मुख्यमन्त्रीले बोलाए सुरक्षा बैठक

कैलाली जिल्ला कारागारमा भएको रक्तपातपूर्ण घटना र त्यसपछिको तनावग्रस्त स्थितिलाई लिएर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा बैठक बोलाएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि सहभागी छन्।

शुक्रबार मध्यरातमा कैदीबन्दीका दुई समूहबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु तथा ४९ जना घाइते भएपछि कारागारको अवस्था तनावपूर्ण बनेको थियो।

घटनालगत्तै कैदीबन्दीले कारागारलाई आफ्नो नियन्त्रणमा लिएका थिए, जसका कारण करिब ४० घण्टासम्म सुरक्षाकर्मी भित्र प्रवेश गर्न सकेका थिएनन्।

आइतबार दिउँसो मात्र मानव अधिकार आयोगको रोहवरमा सुरक्षाकर्मीको टोली कारागारभित्र प्रवेश गरी अवस्थालाई सामान्य बनाउन सफल भएको थियो।

सोही परिस्थितिको समीक्षा गर्न, सुरक्षा व्यवस्थामा भएको कमजोरी पत्ता लगाउन, घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने रणनीतिका विषयमा छलफल गर्न मुख्यमन्त्री शाहले यो उच्चस्तरीय बैठक बोलाएका हुन्।

बैठकले घटनाको छानबिन र कारागारको दीर्घकालीन सुधारका विषयमा महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

प्रकाशित: २५ श्रावण २०८२ १९:२१ आइतबार