राजनीति

जसपाको श्रेष्ठ समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित

अशोक राईसहित बहुमत पदाधिकारी गएनन्

जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्रकुमार श्रेष्ठ समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ। बिहीबार एक कार्यक्रमबीच जसपा र नेपाली कम्युनिष्ट पार्टीबीच एकीकरण भएको हो। 

सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल तथा जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्। पार्टी एकीकरणका लागि दुई दलले १० बुँदे सहमति गरेका छन्।  

सहमतिमा पहिचान र अधिकारसहितको सङ्घीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य पूरा गर्न सडक, सदन र सरकार तीन वटै मोर्चाबाट सङ्घर्ष गर्ने प्रतिबद्धता नेताहरूले जनाएका छन्। 

यस्तै मुलुकलाई समाजवादको दिशामा अघि बढाउने, संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने तथा विगतका सबल र दुर्वल पक्षहरूको समीक्षा गर्दै अब बन्ने एकीकृत पार्टीले नेपाली विशेषताको समाजवाद लाई आफ्नो मूल कार्यक्रमको रूपमा अङ्गीकार गर्ने विषय पनि सहमतिपत्रमा उल्लेख छ । 

परिषद् अध्यक्ष श्रेष्ठले आफूसहित ११ सदस्य पदाधिकारीमा ३ जना लिएर नेकपा प्रवेश गरेका हुन् । निर्वाचन आयोगमा दल दर्ताका समय बुझाइएको ३१ जनाको नाममा ७ जनामात्र बुधबार नेकपा प्रवेश गरेकाले जसपाको अस्तित्व भने कायम रहेको केन्द्रीय अध्यक्ष अशोक राईको भनाइ छ।  

राई नेतृत्वको जनता समाजवादी पार्टी भने राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालसँग एउटै चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ। यसका लागि बुधबार निर्वाचन आयोग पुगेर अशोक राई, राजेन्द्र महतो र रेशमलाल चौधरीले एउटै चुनाव चिह्नबाट निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

बिहीबार नै नेपाली कम्युनिष्ट पार्टी र जनजागरण पार्टी नेपालबीच पनि एकता भएको छ। सहमति पत्रमा नेकपा स‌याेजक दाहाल र सहस‌याेजक नेपाल तथा जागरण पार्टीका अध्यक्ष डा.विष्णुप्रसाद खनालले हस्ताक्षर गरे। यस्तै नेकपा (बहुमत) विद्रोही समूह र नेकपा विद्रोही समूह पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्। 

प्रकाशित: ११ मंसिर २०८२ १५:२० बिहीबार