जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेका आफ्ना तीन प्रदेशसभा सदस्यसँग पुनः स्पष्टीकरण माग गरेको छ।
जसपाको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरले रुपन्देही निर्वाचन क्षेत्र नं. ३(१) का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, लुम्बिनी प्रदेशसभा सदस्य हेमा वेल्वासे (केसी) र बाँके निर्वाचन क्षेत्र नं. २(१) का प्रदेशसभा सदस्य भण्डारी लाल अहिरसँग पुनः स्पष्टीकरण माग गरेको हो।
पार्टीले २०८३ भदौ १ गते लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्ने तथा सरकारको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको जनाएको छ। तर, उक्त निर्देशनविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको देखिएपछि तीनै जनालाई यसअघि नै स्पष्टीकरण सोधिएको थियो।
उनीहरूबाट प्राप्त स्पष्टीकरण पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाएको र उठाइएका प्रश्नहरूको चित्तबुझ्दो तथा सन्तोषजनक जवाफ नआएको जसपाले जनाएको छ।
पार्टीले अब तीनै सांसदलाई पार्टी निर्देशनविपरीत मतदान गरी अनुशासन उल्लङ्घन गरेको विषयमा कारबाही किन नगर्ने, पार्टीको नीति तथा निर्देशनविपरीत सदस्यले काम गर्न मिल्ने वा नमिल्ने र उक्त कार्यलाई पार्टी विधान तथा प्रचलित निर्णयअनुसार कसरी लिनुपर्ने हो भन्ने विषयमा स्पष्ट धारणा माग गरेको छ।
उनीहरूलाई २४ घण्टाभित्र केन्द्रीय कार्यालयमा पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएमा पार्टी विधान तथा प्रचलित निर्णयअनुसार अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी जसपाले दिएको छ।
जसपाका महासचिव डा. सुरेन्द्र कुमार झाले हस्ताक्षर गरेको पत्रमा पार्टीको नीति, निर्णय तथा निर्देशन पालना गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व रहेको स्मरण गराइएको छ।
प्रकाशित: ९ भाद्र २०८३ १५:२९ मंगलबार