राजनीति

गगन-रविको मधेश भ्रमणलक्षित जसपा नेताको टिप्पणी : मधेश लोकप्रियताको प्रतिस्पर्धा गर्ने थलो होइन

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मधेश भ्रमणप्रति लक्षित गर्दै टिप्पणी गरेका छन्।

बस्नेतले मधेशलाई राजनीतिक प्रचार, भाषण, आश्वासन, लोकप्रियताको प्रदर्शन गर्ने थलो नबनाउन आग्रह गर्दै मधेशलाई लोकप्रियताको प्रतिस्पर्धाले नभइ मधेशका ज्वलन्त मुद्दा सम्बोधन गरेर जित्न सकिने टिप्पणी गरेका हुन्।

बस्नेतले भने, ‘मधेशलाई राज्यले समान अधिकार र अवसर दिनुको सट्टा उपनिवेशजस्तो व्यवहार गरेको छ। जनसंख्या, भूगोल र आर्थिक योगदानका आधारमा मधेशले पाउनुपर्ने अधिकार, स्रोत र अवसरमा विभेद भइरहेको छ।’

चुनावका बेला मधेशलाई सम्झिने, भ्रमणका क्रममा ठूला कुरा गर्ने तर मधेशका वर्षौंदेखिका समस्या सम्बोधन गर्न नचाहने राजनीतिक प्रवृत्ति मधेशप्रतिको उपेक्षा र राजनीतिक अवसरवादको निरन्तरता भएको उनको भनाइ छ।

संघीय सरकारको नेतृत्व गर्ने कांग्रेस, कम्युनिष्ट र रास्वपाले प्रदेश सरकारलाई कमजोर बनाउने काम गरेको भन्दै भ्रमणको क्रममा मधेशप्रति सद्भाव देखाउँदैमा मधेशका अधिकार सुनिश्चित नहुने उनको दाबी छ। 

उनले भने, मधेशलाई शासन गर्ने क्षेत्र मात्र नठान। राज्यको नीति निर्माण, निर्णय प्रक्रिया र शासन सञ्चालनमा समान अधिकार र हिस्सेदारी देऊ।’

प्रकाशित: १ मंसिर २०८३ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App