नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले पार्टीका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि ‘पानीमाथिको ओभानो’ बन्न खोजेको भन्दै प्रश्नै प्रश्न गरेकी छन्। शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै सहमहामन्त्री उपाध्यायले ‘रूपान्तरणको व्याख्या व्यक्ति बदल्ने काम’ मात्रै नभएको कुरा मनन गर्न भनेकी छन्।
‘आफ्ना सबै काम गराउने, अनि अहिले समस्या पर्दा पानी माथिको ओभानो हुँदै आजको अवस्थाको सम्पूर्ण जिम्मेवारी केवल सभापति(शेरबहादुर देउवा)माथि केन्द्रित गर्नु सन्तुलित मूल्याङ्कन होइन गलत हो,’ सह महामन्त्री उपाध्यायले भनिन्, ‘किनभने त्यो बेला पनि निर्णय र कार्यान्वयनमा केही व्यक्तिहरूको प्रभावकारी भूमिका थियो।’
अहिले सभापति देउवामाथि मात्रै सबै कुराको दोषारोपण गरिएको भन्दै उनले त्यसो नगर्न सुझाव दिइन। ‘दोषारोपण होइन, वास्तविकता के हो र सुधारको लागि त्याग गर्न जरुरी छ,’ उनले भनिन्।
क्रियाशील सदस्यता काँग्रेसको सङ्गठनात्मक आधारसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्त महत्त्वपूर्ण विषय रहेको उल्लेख गर्दै उनले पार्टी विधानमा उल्लेख गरिएको प्रत्येक वर्ष क्रियाशील सदस्यताको नवीकरण गर्नुपर्ने विषय कार्यान्वयन गर्न नसकेकामा महामन्त्री थापामाथि प्रश्न उठाइन।
‘यो केवल औपचारिक प्रक्रिया मात्र होइन, संगठनलाई जीवित र सक्रिय राख्ने आधारभूत संरचना हो। तर विडम्बना के छ भने, हामीले सो विधान अनुसारको नियमित नवीकरण प्रक्रिया समयमै पूरा गर्न सकेनौँ,’ उपाध्यायले भनिन्।
‘प्रश्न उठ्छ–किन गरेनौँ?’ उनले अगाडि भनिन्। विधानमा स्पष्ट व्यवस्था गरेको कुरालाई पालना नगर्ने प्रवृत्तिले आन्तरिक अनुशासन र संस्थागत विश्वसनीयता दुवैमा प्रश्न खडा गरेको उनले टिप्पणी गरिन्।
विगतका अनुभवका आधार दिँदै उनले महाधिवेशन नजिकिँदा हतार हतार सदस्यता नवीकरण र नयाँ वितरण गर्ने परिपाटीले वास्तविक प्रतिनिधित्व सुनिश्चित नगरेको पनि बताइन्।
‘महामन्त्री गगन थापाले भन्नुभयो–पहिला सधैँ यस्तै भएको थियो,’ सहमहामन्त्री उपाध्यायले भनिन्, ‘अनि अहिले पनि यही गर्ने, अनि तपाईँको रूपान्तरणको नारा कहाँ गयो?
..रूपान्तरण भन्ने कुरा के केवल व्यक्तिको अदल–बदलमा सीमित रहने हो? कि प्रणाली, व्यवहार र संस्कृतिको सुधारमा केन्द्रित हुने हो?’ साँचो रूपान्तरण भनेको जिम्मेवारीप्रति इमानदारी र विधानप्रति निष्ठा रहेको उनले बताइन्।
‘त्यसैले मेरो नम्र आग्रह छ–अब हामीले विगतका अस्वस्थ परम्पराहरू दोहोर्याउने होइन, विधानको मर्मअनुसार नियमित प्रक्रिया संस्थागत गर्नुपर्छ। यही बाटोबाट मात्र कांग्रेसलाई बलियो, विश्वसनीय र रूपान्तरणशील बनाउन सकिन्छ,’ सहमहामन्त्री उपाध्यायले भनिन्।
महामन्त्री द्वय थापा र शर्मा व्यस्त व्यक्ति रहेको उल्लेख गर्दै सहमहामन्त्री उपाध्यायले सबै जिम्मेवारी पूरा गर्न कठिन भइरहेको पनि उनले दाबी गरिन्। ‘महामन्त्री ज्युहरू अत्यन्त व्यस्त व्यक्तित्व हो, उहाँहरूलाई देश विदेशबाट आमन्त्रण गर्छन्, जानै पर्यो। अनि लिएको जिम्मेवारी कसरी पूरा गर्नुहुन्छ?,’ उनले प्रश्न गरिन्। महामन्त्रीहरूका कार्यालयहरू पनि धेरै रहेको आफूले सुनेको बताउँदै उनले भ्याउन कठिन रहेको कुरा आफूले महसुस गर्ने पनि बताइन्।
महामन्त्रीहरूको व्यस्तताले नभ्याएका पार्टीका काम आफूलाई अह्राए आफूसँग प्रशस्त समय रहेको पनि उनले बताइन्। ‘म तयार छु, अरू पनि हुनुहुन्छ होला, जिम्मेवारी लिन। यो कार्य पूरा गरेर देखाइदिन म तयार छु,’ उनले भनिन्।
उनले प्रत्येक वर्ष क्रियाशील सदस्यता नवीकरणलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न प्रस्ताव गरिन्। प्रत्येक सदस्यलाई डिजिटल कार्ड क्युआर कोडसहितको सदस्यता दिन सकिने बताउँदै उनले भनिन्, ‘जसले सदस्यताको पारदर्शिता र विश्वसनीयता दुवै बढाउँछ।’
आफू महामन्त्रीहरूजस्तो पपुलर नभएकाले त्यो काम गरेर देखाउने फुर्सद रहेको सहमहामन्त्री उपाध्यायले बताइन्। ‘म गरेर देखाउन सक्छु। म यहाँहरू जस्तो पलपुर छैन। रातदिन यही कार्यालयमा बसेर, यहाँ धेरै आइटी पढे नपढे पनि अनुभवी विज्ञहरू हुनुहुन्छ, उहाँहरूको सहयोगबाट क्युआरसहितको कार्ड बनाइदिन्छु,’ उनले अगाडि भनिन्।
महामन्त्री शर्माले ‘डिजिटलाइजेसन’को धेरै कुरा गरेको तर, पार्टीमा नतिजा नदेखिएका भन्दै पनि सहमहामन्त्री उपाध्यायले प्रश्न उठाइन्। ‘मृदुभाषी महामन्त्री विश्वप्रकाश शर्मा डिजिटलाइजेसनको धेरै कुरा गर्नुहुन्छ। कहाँ छ हाम्रो पार्टी डिजिटलाइजेसनमा गएको प्रमाण?,’ उनले प्रश्न गरिन्।
महामन्त्रीहरूले ‘अब सबैलाई अनलाइन प्रणालीमा लैजान्छौँ’ भनेर पाँच–सात भइसकेको बताउँदै त्यो अहिलेसम्म किन भएन? भन्ने प्रश्न उठेको पनि सहमहामन्त्री उपाध्यायले बताइन्। उनले भनिन्, ‘कसले रोक्यो? हामीलाई अब जवाफ मात्र होइन, कार्यान्वयन चाहिएको छ।’
‘धार र अनेक पक्ष देखाउनुको अर्थ छैन’
महाधिवेशनका सन्दर्भमा अहिले पार्टीभित्रको मुख्य विषय बनेको पनि सहमहामन्त्री उपाध्यायले बताइन्। ‘पार्टीभित्र केही धार या एक–दुई वा अनेक पक्षजस्तो देखाउने प्रयास भइरहेको छ, तर मेरो बुझाइमा यसको कुनै ठोस अर्थ छैन,’ उनले भनिन्। महाधिवेशन नियमित गर्नुपर्छ भन्ने विषयमा सबैको सहमति रहेको उल्लेख गर्दै उनले ‘केबल तिथि मितिमा अल्झेर समय बरबाद गरिरहेको’ टिप्पणी गरिन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको स्वर केवल विशेष महाधिवेशनको माग र नेतृत्व परिवर्तनको विषय मात्रै नरहेको आफूले बुझेको सहमहामन्त्री उपाध्यायले बताइन्।
‘यो पूर्ण रूपमा पुनरावलोकन, नीतिगत सुधार, नियमित अधिवेशन र नयाँ यात्राको संकेत हो। यसलाई अनादर गर्न मिल्दैन, नगरौँ,’ उनले भनिन्।
अब अधिवेशनका लागि आवश्यक तयारी, विधान संशोधन समिति, निर्वाचन समितिलाई दिइने आवश्यक कार्यसूची, क्रियाशील छानबिन समिति र समय तालिकाको सङ्गठनात्मक थालनी तत्काल गर्न पनि उनले प्रस्ताव गरिन्।
अधिवेशनको आवश्यक तयारी नगरी बाहिर ‘पार्टी विवादग्रस्त छ’ भन्ने सन्देश प्रवाह गरेर संस्थागत छवि धमिल्याएको पनि सहमहामन्त्री उपाध्यायले आरोप लगाइन्। ‘जनमानसमा छरिएको यस प्रकारको हल्लाले नकारात्मक शक्तिलाई हाम्रो संगठनलाई कमजोर देखाउने मौका मिलिरहेको छ। म विनम्रतापूर्वक सुझाव दिन चाहन्छु–अब दोष खोज्ने वा धार बनाउने होइन, जिम्मेवारी लिन र काम सुरु गर्ने समय हो,’ उपाध्यायले भनिन्।
अधिवेशन केवल प्रक्रियागत अभ्यास मात्र नभई काँग्रेसको लोकतान्त्रिक प्रतिबद्धता र पार्टीलाई सुदृढ गर्ने अवसर पनि रहेकामा उनले जोड दिइन्।
प्रकाशित: २१ कार्तिक २०८२ १८:४० शुक्रबार