पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएका तनावपूर्ण घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्ति, संयम र सद्भाव कायम गर्न सबै पक्षलाई अपिल गरेका छन्।
खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सुनसरी, सिराहा, पर्सा, धनुषालगायतका जिल्लामा भएका घटनाले आफूलाई स्तब्ध र मर्माहित बनाएको बताएका छन्। उनले ती घटनामा हालसम्म तीन जनाले ज्यान गुमाएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
उनले घटनामा घाइते भएकाहरूको तत्काल उपचार व्यवस्था गर्न र नागरिकको जीवन सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।
खनालले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र राष्ट्रिय एकता नेपालको पहिचान भएको बताएका छन्।
उनले शान्तिपूर्ण सहअस्तित्व र आपसी सहयोग नेपाली समाजको विशेषता भए पनि कहिलेकाहीँ गलत प्रवृत्ति वा विभाजनकारी तत्वका कारण सामाजिक सद्भावमा खलल पुग्न सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन्।
"आपसी मित्रता, सद्भाव र समझदारीलाई अझ बलियो बनाऔँ। कुनै पनि क्षेत्रमा यस्ता गतिविधि देखिए तत्काल रोक्न सबै पक्ष सक्रिय बनौँ," खनालले भनेका छन्।
उनले राजनीतिक दल, संघसंस्था र स्थानीय तहलाई पनि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। साथै, सरकारले घटनाप्रति मुकदर्शक भएर बस्न नहुने भन्दै प्रशासन संयन्त्रलाई शान्ति, सद्भाव र अमनचयन कायम गर्ने कार्यमा सक्रिय बनाउन माग गरेका छन्।
खनालले जनताको बाँच्न पाउने अधिकारको सुरक्षा गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै यस विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरेका छन्।
प्रकाशित: १४ श्रावण २०८३ २१:०६ बिहीबार