राजनीति

झाँक्रीको आत्मालोचना: असावधानीपूर्वक त्यो शब्द प्रयोग गरेँ, फिर्ता लिन्छु

नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले आत्मालोचना गरेकी छन्। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका प्रति आलोचना गर्ने क्रममा उनले केही अमर्यादित शब्द प्रयोग गरेकी थिइन्।

आत्मालोचना गर्दै झाँक्रीले ती शब्दहरू असावधानीपूर्वक प्रयोग भएको बताएकी छन्। 'शब्द चयनमा ध्यान दिइनँ। असावधानीपूर्वक त्यो शब्द प्रयोग गरेँ। त्यो शब्द फिर्ता लिन्छु,' आत्मालोचनामा उनले भनेकी छन्।

एकीकृत समाजवादीका एक नेताले नागरिकलाई दिएको जानकारीअनुसार झाँक्रीले समयसीमाभित्रै आत्मालोचना गरेकी हुन्। गत असार २६ गते पार्टीले उनलाई सात दिनभित्र आत्मालोचना गर्नका लागि भनेको थियो। त्यही समयसीमाभित्रै उनले आत्मालोचना गरेको ती नेताले जानकारी दिए।

'पार्टीको आपत्ति पनि कन्टेन्टमा होइन, शब्दमै थियो। त्यो उहाँले फिर्ता लिनुभयो, आत्मालोचना गर्नुभयो। पार्टीले आत्मालोचनाका लागि सात दिनको समय दिएको, उहाँले समयसीमाभित्रै लेखेर महासचिवलाई बुझाइसक्नुभयो,' ती नेताले भने। 

असार १५ गते लुम्बिनीमा आयोजित पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालको भेलालाई सम्बोधन गर्ने क्रममा उनले भनेकी थिइन्— पार्टीमा सङ्कट छ, अध्यक्षकै बारेमा सङ्कट आयो। अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। सङ्कट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्ने ? कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि 'मरेको सिनो' हालेर हिँड्न सकिँदैन। अर्ली महाधिवेशन गरौँ। पुनर्गठन गरेर अध्यक्ष बनाऔँ। कहाँ हुन्छ यसरी ? म त भन्छु।

त्यसअघि जेठ २२ गते अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। अख्तियारले हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णयमा जिम्मेवार भएको दाबी गर्दै नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। त्यही पृष्ठभूमिमा झाँक्रीले उल्लिखित अभिव्यक्ति दिएकी थिइन्। तर, उनले आत्मालोचना गरेकी हुन्। 

प्रकाशित: १९ श्रावण २०८२ १७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App