राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्की मत माग्न शुक्रबार साँझ माइतीघर पुग्दा जेनजी आन्दोलनमा सहभागी तथा घाइते युवाहरूले विरोध गरेका छन्।
२०८४ को चुनाव २०८२ मै सार्नका लागि मात्रै आन्दोलनमा बगेको रगत प्रयोग गरिएको हो भनेर उनीहरूले कार्कीलाई प्रश्न गर्दै विरोध गरेका हुन्। फागुन २१ गतेको चुनावपछि पनि न्याय नमिल्ने भन्दै उनीहरू आक्रोसित बनेका छन्।
जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धासुमन अर्पण गर्दै कार्कीले घाइतेहरूप्रति सधैं सम्मान व्यक्त गर्ने बताइन्। उनले जेनजी आन्दोलन सुशासन र भ्रष्टाचारविरुद्ध स्पष्ट म्याण्डेटसहित भएको भन्दै रास्वपा पनि सोही उद्देश्यमा अडिग रहेको बताइन्।
कार्कीले जेनजी आन्दोलन नागरिकको हितका लागि भएको भन्दै जनताको पक्षमा काम गर्ने सरकार आवश्यक रहेको र त्यसका लागि निर्वाचन अपरिहार्य भएको बताइन्।
सहिदको सम्झनामा दिप प्रचलन गर्ने क्रममा माइतीघरमा कार्कीले पार्टीको झण्डा लिएर आएको भन्दै जेनजी आन्दोलनका घाइतेले आक्रोश व्यक्त गरेका थिए। घाइते जेनजी अविशेकले श्रेष्ठले भने, ‘हामी हिजो भिक माग्न आएको हैनौँ, गोली खान आएको पनि हैनौँ। हामी लड्न आएका हौँ। को अगाडि छ भन्ने मतलब छैन, न्याय नपाउँदासम्म लड्छौँ।’
उनले रास्वपामा प्रवेश गरेका सुदन गुरुङलाई इंगित गर्दै नयाँ पार्टी र नयाँ अनुहारहरूले साँच्चिकै न्याय दिन नखोजेर आफू उम्मेदवार बन्न मात्रै खोजेको बताएका छन्। ‘देशलाई निकास दिन चाहन्थे भने उनीहरू सदनमा होइन, सडकमा हुन्थे,’ उनले भने।
प्रकाशित: १७ माघ २०८२ ११:४७ शनिबार