राजनीति

जनार्दनले भने: प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गरे

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पार्टी संयोजक पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको नीति र लाइनमा आत्मसमर्पण गरेको बताएका छन्।

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै शर्माले माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरूबीचको एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उक्त टिप्पणी गरेका हुन्।

एकता प्रक्रियालाई अस्वीकार गर्दै आएका शर्माले पत्रकार सम्मेलनमा भने, ‘हाम्रा अध्यक्ष प्रचण्डले माओवादी पार्टी छोडेर माधव नेपाल जीको नीतिमा, लाइनमा उहाँ उतैतिर आत्मसमर्पण गर्नुभयो।’

उनले यो एकता विचार र सिद्धान्तमा आधारित नभई नेताहरूको व्यक्तिगत स्वार्थ र असफलता ढाकछोप गर्ने उद्देश्यले प्रेरित रहेको दाबी गरे।

शर्माले भने, ‘अहिलेको जो ध्रुवीकरण छ, विचार सिद्धान्तभन्दा बाहिरबाट, कुनै विचार र सिद्धान्त त्यहाँ छैन। त्यहाँ नेताहरूका गल्ती र असफलतालाई ढाकछोप गर्ने एउटा जत्था तयार गरिँदैछ।’

यो पनि पढ्नुहोस्

फुट्यो माओवादी केन्द्र, जनार्दन पक्ष अलग

उनले यस्तो एकताबाट देश र नागरिकले कुनै उपलब्धि हासिल गर्न नसक्ने र यसले केवल भ्रम सिर्जना गर्ने बताए।

विगतमा नेकपा गठन हुँदा आफू पनि हस्ताक्षरकर्ता रहेको स्वीकार्दै शर्माले त्यो एकता वामपन्थी ध्रुवीकरणमार्फत देशमा राजनीतिक स्थिरता कायम गर्ने र समाजवादको सपना पूरा गर्ने उद्देश्यमा आधारित रहेको स्पष्ट पारे।

तर, नेताहरूको कुर्सी स्वार्थका कारण त्यो एकता विघटन भएको उनको भनाइ थियो।

शर्माले हालको एकता प्रक्रिया जेन-जी आन्दोलनको भावनाविपरीत रहेको र विभिन्न आरोप लागेकाहरूसँग गठबन्धन गर्नुले देशको राजनीतिलाई सुदृढ बनाउन नसक्ने बताए।

पत्रकार सम्मेलनमार्फत उनले ‘प्रगतिशील अभियान, नेपाल’ नामक नयाँ अभियानको घोषणा समेत गरेका छन्।

यो अभियानले नयाँ पार्टी निर्माण गर्ने नभई देशैभरि प्रगतिशील शक्तिहरूलाई जोड्ने लक्ष्य राखेको उनले सुनाए। आफूहरू अब नेतृत्वको दाबीमा नरहेको र नयाँ पुस्तालाई अगाडि बढाएर उनीहरूलाई आफ्ना अनुभव हस्तान्तरण गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘उहाँहरू (शहीद सन्तति) अबको हाम्रो नेता हो, उहाँहरूको पुस्ता अबको नेता हो,’ शर्माले भने, ‘उहाँहरूलाई हामी नेतृत्वमा अगाडि ल्याएर हाम्रा अनुभवहरू सेयर गरेर त्यसलाई मद्दत पुर्‍याएर अगाडि लैजाने हाम्रो प्रतिबद्धता रहेको छ।’

प्रकाशित: १८ कार्तिक २०८२ १५:५१ मंगलबार