राजनीति

जनार्दनले भने- मैले देशलाई वर्षौं लामो अन्धकारबाट मुक्त गरेँ

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूले नै मुलुकलाई वर्षौँ लामो अन्धकारबाट मुक्त गरी उज्यालोतर्फ डोर्‍याएको बताएका छन्।

उज्यालो नेपाल अभियानको १० वर्ष पूरा भएको अवसरमा लक्ष्मीपूजाका दिन सामाजिक संजाल मार्फत् उनले १८ घण्टे लोडसेडिङ अन्त्यको स्मरण गरेका हुन्।

सामाजिक सञ्जालमा विगतका अन्तर्वार्ता समेटिएको भिडियो राख्दै पूर्वऊर्जामन्त्री शर्माले लेखेका छन्, ‘हाम्रो देशलाई वर्षौं लामो अन्धकारबाट मुक्त गरी उज्यालोतर्फ डोर्‍याएको १० वर्ष पूरा भएको सुखद अवसरमा यो अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण नेपालीहरूका साथै मेरो सहयोगी टोलीका साथीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

मन्त्री पदको शपथ लिँदै गर्दा आफूले देशलाई लोडसेडिङमुक्त बनाउने भित्री संकल्प लिएको उनले सम्झिएका छन्।

पदभार सम्हालेको एक साताभित्रै सार्वजनिक गरेको ३७ बुँदे कार्ययोजनाको पहिलो बुँदामै काठमाडौंलाई ‘शून्य घण्टा लोडसेडिङ’ बनाउने लक्ष्य तय गरेर आफूले काम सुरु गरेको उनको भनाइ छ।

‘त्यतिबेला मन्त्रालय प्रवेश गर्दा कति घण्टा लोडसेडिङ घटाउने होइन, कति घण्टा लोडसेडिङ गर्ने भनेर सोधिन्थ्यो,’ तत्कालीन अवस्था स्मरण गर्दै शर्माले भनेका छन्, ‘मैले स्पष्ट भनेको थिएँ, लोडसेडिङ घण्टामा नापिँदैन, म जनतालाई लोडसेडिङबाटै मुक्त गराउँछु।’

त्यसबेला ठूला भनिने विज्ञहरूले नै नेपालमा लोडसेडिङ अन्त्य हुनै नसक्ने ठोकुवा गरेको र बत्ती बालेपछि आफूमाथि कुलेखानी रित्ताएर सस्तो लोकप्रियता खोजेको आरोप लगाइएको उनले उल्लेख गरेका छन्।

तर, आफूले कुनै जादु नगरी इमानदारीपूर्वक प्रणालीको व्यथिति र नीतिगत समस्या सुधारेर देशलाई लोडसेडिङमुक्त बनाएको उनको दाबी छ।

यो अभियान केवल बत्ती बाल्ने विषय मात्र नभएर देशमा व्याप्त घोर निराशा र ‘केही हुँदैन’ भन्ने हीनताबोध विरुद्धको लडाइँ भएको शर्माले बताएका छन्।

काठमाडौंबाट सुरु गरेर पोखरा, विराटनगर हुँदै सिङ्गो देशलाई अन्धकारमुक्त बनाइएको स्मरण गर्दै उनले अँध्यारोमाथि उज्यालोको विजय जनताको साथले नै सम्भव भएको उनले सुनाए।

प्रकाशित: २२ कार्तिक २०८३ २१:४० आइतबार