राजनीति

‘न्याय पाउने पहिलो हक सहिदकी आमाको हो’ भनियो तर संकल्प पूरा गरिएन : सांसद खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले जेन्जी आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै खत्रीले सचेत युवाहरूको विद्रोहका जेनजी आन्दोलन भएको भन्दै त्यसलाई न्याय दिलाउन सदनबाट सङ्कल्प प्रस्ताव पारित गरी दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताए।  

खत्रीले गत चैत १९ गते बसेको पहिलो संसद् बैठकलाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले ‘न्याय पाउने पहिलो हक सहिदकी आमाको हो’ भनेको स्मरण गरे। तर संसद्को ५८औँ बैठकसम्म आइपुग्दा सहिद परिवारले अपमानित भएको महसुस गर्दै आमाहरू रोइरहेको अवस्था बनेको उनको भनाइ थियो। 

‘गत चैत १९ गते बसेको पहिलो संसद् बैठकलाई सम्बोधन गर्दै हाम्रा सभापति रवि लामिछानेले भन्नुभएको थियो, न्याय पाउने पहिलो हक सहिदकी आमाको हो । तर ५८औँ बैठकमा आइपुग्दा आफ्नो अपमान गरियो भन्दै सहिदकी आमा रुने अवस्था बन्यो,’ खत्रीले भने। 

उनले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको अवस्थाप्रति भावुक हुँदै उनीहरू भ्रष्टाचारविरोधी आवाज बोकेर आन्दोलनमा सहभागी भएको बताए। 

‘छोराको झोलामा कापी र किताब थियो, मुखमा भ्रष्टाचारविरोधी नारा थियो, छाती र टाउकोमा गोली हानियो, खुँखार आतङ्कवादीसरह मारियो,’  उनले भने। 

खत्रीले सहिदको रगत र परिवारको आँसुको हिसाब हुने बताइए पनि अहिले सहिदका आमाले आफ्ना छोराको बलिदानको न्यायका लागि सदनमा चित्कार गर्नुपर्ने अवस्था आएको बताए। 

‘सहिदको रगत र आमाको आँसुको हिसाबकिताब हुन्छ भनियो, तर छोराको लासमाथि पद साटेको होइन भन्दै सदनमा चित्कार छोड्नुपर्ने दिन आयो,’ उनले भने। 

उनले जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन ? हो भने यही सदनबाट सङ्कल्प प्रस्ताव ल्याएर पास गर्न माग गरेका छन्।   

प्रकाशित: ७ आश्विन २०८३ १२:३८ बुधबार