राजनीति

विधि विपरीत आइजिपी हटाइएको भए गलत: पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर विधि र प्रक्रिया विपरीत भएको भए त्यो गलत हुने बताएका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. भट्टराईले कार्यकारी निकायलाई आवश्यकताअनुसार फेरबदल गर्ने अधिकार भए पनि त्यस क्रममा कानुन र विधिको अनिवार्य पालना हुनुपर्ने बताएका हुन्।

डा. भट्टराईले भने- ‘कार्यकारीलाई आवश्यकताअनुसार फेरबदल गर्ने अधिकार त हुन्छ, तर कानुन र विधिको पालना गर्नुपर्छ। विधि पुर्‍याएरै गरिएको छ भने धेरै भन्नु परेन, तर विधि विपरीत हो भने चाहिँ गलत हुन्छ।’

आइजिपी कार्कीलाई बर्खास्त नै गरिएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफूले सुनेअनुसार कार्कीलाई सुरक्षा सल्लाहकार बनाएर अर्को आइजिपी ल्याइएको बताए। उनले सरकारले कुन कानुनी आधार र विधिमा टेकेर निर्णय गरेको हो, त्यो बुझेर मात्रै आधिकारिक रूपमा भन्न सकिने बताए।

नयाँ पुस्ता सरकारमा रहेकाले सिक्ने क्रममा कतिपय निर्णय र प्रक्रिया नमिलेको हुन सक्ने डा. भट्टराईको भनाइ थियो। तर, यस्ता विषयलाई देखाएर भर्खरै बनेको सरकारलाई नै ढाल्ने वा अस्थिरता निम्त्याउने खेलमा लाग्न नहुने उनले चेतावनी दिए।

उनले भने- ‘पाँच वर्षको कार्यकाल पाएको सरकारलाई अहिले नै ढाल्ने ढंगले आन्दोलन गर्ने कुरा उठ्दा यसको विकल्प के हो भन्ने प्रश्न आउँछ। त्यसैले यसलाई भत्काउनेतिर लैजानु हुँदैन।’

सरकारको समग्र कार्यशैलीबारे टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले डिजिटल प्रविधिको प्रयोग र सुशासनमा केही सुधारका राम्रा प्रयास देखिए पनि देशमै रोजगारी सिर्जना गर्ने गरी तीव्र आर्थिक सुधारका कार्यक्रम ल्याउन सरकार चुकेको बताए।

प्रकाशित: १८ कार्तिक २०८३ १६:५९ बुधबार