श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले वर्तमान सरकारले आफ्नै सांसदहरूको चित्त बुझाउन नसक्नु नेपाली जनताका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद राईले रास्वपा सांसद आशिका तामाङले बैठक बहिष्कार गरेको घटनाप्रति लक्षित गर्दै सत्तापक्षकै सांसदहरू सरकारप्रति असन्तुष्ट र आक्रोशित देखिनु विडम्बना भएको बताए।
व्यङ्ग्यात्मक शैलीमा बोल्दै उनले प्रतिपक्षले भन्दा सत्तापक्षकै सांसदहरूले सरकारमाथि प्रश्न उठाइरहेको उल्लेख गर्दै सत्तापक्षले प्रतिपक्षको जागिर खोसिदिएको जस्तो अवस्था बनेको टिप्पणी गरे।
सांसद राईले संसद्मा आक्रोश पोख्नुभन्दा सत्तापक्षका सांसदहरूले आफ्नै मन्त्री तथा प्रधानमन्त्रीसँग प्रभावकारी समन्वय गरी जनताका समस्या समाधान र नीति कार्यान्वयनमा लाग्नुपर्ने सुझाव दिए।
गठबन्धन सरकार बनेको चार महिना बितिसक्दा पनि कामले गति लिन नसकेको उनको भनाइ थियो।
विगतको अस्थिरता र खिचातानी अन्त्य गर्न बनेको दुई तिहाइ नजिकको बलियो सरकारले सही ढङ्गले जनअपेक्षा अनुसार काम गरेर देखाउनुपर्नेमा उनले जोड दिए।
प्रकाशित: २ भाद्र २०८३ १६:५८ मंगलबार