राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद राजु पाण्डेले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री नबनाउने कुरा केवल हल्ला मात्र भएको बताएका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीको आधिकारिक लाइन र जनताको म्यान्डेट बालेनको पक्षमा रहेको बताएका हुन्।
उनले भने, ‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र साह नै हुन्। यसमा कुनै शंका छैन। यस्तो गैरजिम्मेवार र चाहिने नचाहिने कुरा कसैले गर्छ भने त्यो हामीलाई सह्य हुनेछैन र जनताले पनि मान्ने छैनन्।’
पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई आधिकारिक लाइनभन्दा बाहिर गएर मिडियामा बोल्ने छुट नभएको उनले औंल्याए।
सभापति वा उपसभापति कसैले पनि बालेनको विकल्पबारे नबोलेको अवस्थामा बाहिर चलेका कुरालाई उनले निराधार बताएका छन्।
उनले थपे, ‘पार्टीको लाइनभन्दा बाहिर गएर मान्छेपिच्छे कुरा नगर्न म सबैसँग अनुरोध गर्न चाहन्छु। मिडियामा बोल्दा संयमित हुनुपर्छ। यो पार्टीभित्रको सुशासनको पनि कुरा हो।’
सुशासनको विषयलाई लिएर उनले राजनीतिज्ञलाई मात्र गाली गरेर नपुग्ने भन्दै कर्मचारीतन्त्रको कार्यशैलीमा पनि ठुलो परिवर्तन आवश्यक रहेको सुनाए।
जनताले व्यक्ति परिवर्तनसँगै प्रवृत्तिको पनि परिवर्तन खोजेको उनको भनाइ थियो।
‘देशमा सुशासन चाहिएको छ। सरकारी कार्यालयमा जाँदा नागरिकले सुशासन महसुस गर्नुपर्छ। अब हामी सुशासनको कुरामा निर्मम तरिकाले अगाडि बढ्ने छौं,’ उनले भने।
पुरानो कार्यशैलीमा आमूल परिवर्तन नआएसम्म रास्वपाले खोजेको सुशासन सम्भव नहुनेमा उनले जोड दिए।
प्रकाशित: २६ फाल्गुन २०८२ १८:२१ मंगलबार