राजनीति

जेनजीको यथोचित आवाजलाई सम्बोधन गरी नेपाली जनतालाई सेवा दिनु सरकारको दायित्व : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको आगामी निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।  

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आज यहाँ आयोजित शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने कार्यमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै वर्ग–समूहको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको बताएकी छन्।  

प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘सरकारले २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्न जिम्मेवारी पाएको विदितै छ। सरकारसँग नेपालको संविधानअनुसार जेनजीको यथोचित आवाजलाई सम्बोधन गरी नेपाली जनतालाई सेवा दिनुपर्ने दायित्व छ। लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ।’  

गत भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाको अनाहकमा ज्यान गएको र सयौँको सङ्ख्यामा घाइते भएको घटनाले आफू अत्यन्त दुःखी भएको बताएकी छन्। नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाइने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरेकी छन्।  

सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयले सरकार यस संवतको संवर्द्धन, प्रवर्द्धन र व्यावहारिक रूपमा लागू गर्न तत्पर रहेको स्पष्ट भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयमा नेपाल संवतको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै यसको अनुगमनका लागि प्रतिष्ठानसँग सहकार्य गर्ने पनि बताएकी छन्।  

शङ्खधर साख्वाःको समाज र देशप्रतिको अतुलनीय योगदान तथा सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप ९३६ सालमा थालनी भएको नेपाल संवत् कुनै राजाको शक्ति वा युद्धको विजयबाट नभई व्यापारीको त्याग र परोपकारको आधारमा लोकस्तरबाट उत्पत्ति भएको भएकाले यो उच्च महत्व र लोककल्याणको विरासत बोकेको संवत् भएको चर्चा गरेकी छन्।  

नेपाली समाजमा गरिबी र असमानताको अन्त्य गर्दै जनताको आर्थिक स्तर वृद्धि गर्न साख्वाःले देखाएको मार्गमा लाग्नु आवश्यक रहेको औँल्याउँदै प्रधानमन्त्री कार्कीले शङ्खधर साख्वाःले जस्तै व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई आत्मसात् गरी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभिष्ट पूरा हुने बताएकी छन्। कार्यक्रममा उनले साख्वाःको सालिकमा माल्यार्पण गर्नुका साथै प्रतिष्ठानद्वारा प्रकाशित बुलेटिन विमोचन गरेकी छन्। उनले संस्कृतिविद् छत्रबहादुर कायस्थ र नेपाः पासा पुचः अमेरिकालाई शङ्खधर सिरपाद्वारा सम्मान गरेकी छन्।  

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रतिष्ठानका पूर्वअध्यक्षहरू श्यामकृष्ण मानन्धर, मदनकृष्ण श्रेष्ठलगायतले शङ्खधर साख्वाःबारे खोज तथा अनुसन्धानलाई अझै तीव्र बनाउँदै नेपाल संवत्लाई सम्पूर्ण रूपमा व्यवहारमा ल्याउनुपर्ने बताएका छन्।

प्रकाशित: ५ कार्तिक २०८२ १२:५६ बुधबार