नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पछिल्ला राजनीतिक भेटघाट र त्यसलाई लिएर सिर्जना भइरहेको माहोलप्रति गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले विचार मिल्ने शक्तिहरू एक ठाउँमा उभिनु स्वाभाविक र सकारात्मक भए पनि त्यसलाई अतिरञ्जित रूपमा ‘तारणहार’को उदयझैँ प्रस्तुत गर्नु गलत भएको टिप्पणी गरेका छन्।
ज्ञवालीले सिंहदरबार जलाउने वा त्यसप्रति उत्सव मनाउनेहरू लोकतान्त्रिक प्रतिस्पर्धामार्फत त्यहीँ पुग्न खोज्नु सकारात्मक संकेत भएको उल्लेख गर्दै तर त्यसलाई लिएर देश नबन्नुको कारण केही व्यक्तिहरू नमिलेकै हो भन्ने जस्तो सन्देश प्रवाह गर्न खोजिएकोमा आपत्ति जनाएका छन्।
उनले दक्षिण भारतीय चलचित्रको उदाहरण दिँदै भनेका छन्, 'कुनै नायक मञ्चमा उत्रेर खुट्टा बजार्दा तुफान आउँछ र सबै खलनायक समाप्त हुन्छन् भन्ने शैलीको राजनीतिक कल्पना फैलाइँदैछ।' यस्तो मिलनबाट देशलाई मुक्ति दिने ‘तारणहार’ जन्मिन्छ भन्ने भ्रम फैलाउनु खतरनाक भएको उनको भनाइ छ।
ज्ञवालीले देश निर्माण व्यक्तिको करिश्माले मात्र नभई विचार, संस्था, प्रणाली र सामूहिकताबाट हुने स्पष्ट पारेका छन्। शासन प्रणाली, आर्थिक नीति, सामाजिक विविधताको व्यवस्थापन, बदलिँदो भूराजनीतिक सन्दर्भमा राष्ट्रिय हितको संरक्षण, जलवायु परिवर्तनजस्ता चुनौती तथा संविधानका विषयमा स्पष्ट विकल्पबिना देश अघि बढ्न नसक्ने उनको तर्क छ।
यस्तो छ उनको स्टाटस:
विचार मिल्नेहरू एकै ठाउँ उभिनु राम्रो हो। (उसो त, विचार मिलेको हो कि स्वार्थ– समयले नै बताउला।) त्यसमाथि, सिँहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिष्पर्धाबाट त्यही सिँहदरबारमा पुग्न खोज्नु सकारात्मक हो।
तर यस्ता भेटघाटहरूलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदैछ– मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरू नमिलेर हो। जस्तो कि दक्षिण भारतीय चलचित्रहरूमा देखिन्छ- कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरू सोत्तर हुन्छन्!
यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदैछ।
तर यस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्याउँदैन। देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो।
कस्तो शासन प्रणाली अपनाउने? कस्तो आर्थिक नीति लिने? बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कस्तो हुने? तीव्र रुपमा बदलिइरहेको भूराजनीतिक परिदृश्यमा राष्ट्रिय हितको संरक्षण कसरी गर्ने? जलवायु परिवर्तन जस्ता भयावह चुनौतीको सामना कसरी गर्ने? संविधानका कुन विषय संरक्षण गर्ने र के परिमार्जन गर्ने? यावत् प्रश्नमा कुनै विकल्प छैन।
छ त केबल नकारात्मकता, निषेध र घृणा।
कतिपय मिडियामा देखा परेको ‘युफोरिया’ हेर्दा दुई दशक अगाडिका घटनाहरू याद आए, जतिबेला ‘जनसरकार’ घोषणाको समाचार कभर गर्न हेलिकप्टर चार्टर गरिन्थे।ओहो, हिंसाको त्यो महिमागान! नयाँ दिनका ती अभ्यर्थना! र नयाँ नेपालका ती सपना! आज त्यो ‘मिडिया हाइप’ निर्मित बिम्ब कपुरको बास्ना झैँ विलोप भइसकेको छ।
घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो त आखिर लामो दौडले नै तय गर्ने हो।
साथीहरूले समाजलाई ‘इमोशनल’ होइन, ‘र्याशनल’ बनाउन सघाए हुने हो।
स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ।
प्रकाशित: १२ पुस २०८२ ०९:०० शनिबार