राजनीति

मानव बेचबिखन नियन्त्रण गर्न सङ्गठित रूपमा लाग्न जरुरी छः उपप्रधानमन्त्री सिंह

फाइल तस्बिर

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सङ्गठित रूपमा लाग्न सबैलाई आह्वान गरेका छन्।

मानव बेचबिखनविरुद्ध १९औँ राष्ट्रिय दिवसका अवसरमा दिवस मूल समारोह समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहका हरेक वडा र टोलटोलबाट राजनीतिक दलका जिम्मेवार नेता तथा कार्यकर्तासहित सबै सङ्गठित भएर यसविरुद्ध लाग्न आह्वान गरेका हुन्।  

उपप्रधानमन्त्री सिंहले भने, 'मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी सञ्जालका रूपमा फैलिएको अपराधजन्य कार्य हो। नेपालको विद्यमान संविधानले कसैलाई पनि बेचबिखन गर्न र दास बनाउन पाइने छैन भनी मानव बेचबिखनविरुद्धको कार्यलाई मौलिक हकका रुपमा स्थापित गरेको छ। मानव बेचबिखन कार्यलाई नियन्त्रण गरी पीडित र प्रभावितको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो।'

उनले अन्तर्राष्ट्रिय श्रम सङ्गठन र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको अनुमानअनुसार विश्वमा पाँच करोड मानिस आधुनिक दासताको जीवन बिताइरहेको उल्लेख गर्दै गरिबी, विपन्नता र मुलुकभित्र हुने आन्तरिक द्वन्द्व, जलवायु परिवर्तन, शिक्षा र रोजगारीका अवसरमा गिरावट आदि कारण यसले प्रश्रय पाइरहेको बताए। 'मानव बेचबिखन तथा ओसारपसार एक जघन्य अपराध हो। यो सामाजिक रुपमा निन्दनीय, कानुन रूपमा दण्डनीय हुनुका साथै समाजको कलङ्कका रूपमा रहेको छ। यस्ता प्रकृतिका जघन्य अपराधको रोकथाम र नियन्त्रण गर्नु हामी सबैको कर्तव्य पनि हो,' उपप्रधानमन्त्री सिंहले भने।

उनले मानव बेचबिखन तथा ओसारपसारका घटना हुन नदिन नेपाल सरकार गग्भीर रूपमा लागिरहेको र यसमा सरकारी तथा गैरसरकारी निकाय र सम्बन्धित सरोकार भएकाहरूको सहकार्य भएमा रोकथाम तथा नियन्त्रण गर्न सहज हुने बताए।

प्रकाशित: २० भाद्र २०८२ १४:०२ शुक्रबार