राजनीति

मुलुकको आर्थिक विकासका लागि निर्यात व्यवसायलाई बढाउन जरुरी : सांसद पराजुली

फाइल तस्बिर

प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले निर्यातलाई बढाउन सकेमात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन्।

निर्यात व्यवसायी महासङ्घ नेपालको छैटौँ वार्षिक साधारणसभाको उद्घाटनका क्रममा उनले मुलुकको आर्थिक विकासका लागि निर्यात व्यवसायलाई बढाउन जरुरी रहेको बताएका हुन्।

'पुरानो नेताको अनुभव र नयाँको ज्ञानलाई प्रयोग गरेर मुलुकको अर्थतन्त्र बलियो बनाउन वर्तमान सरकार लागेको छ, कसैलाई गाली गरेर होइन, योगदान गरेर मुलुकको विकास गर्नुपर्छ,' उनले भने। मुलुकको आर्थिक उन्नतिका लागि सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य पराजुलीले मुलुकमा सुशासन र आर्थिक विकासका लागि रास्वपाले १०० बुँदे बाचापत्र तयार गरेको बताउँदै यसलाई पूरा गर्न वर्तमान सरकार लाग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २१ चैत्र २०८२ ०७:२९ शनिबार