पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी र सेनालगायत राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु विडम्बनापूर्ण भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले न्याय र सुशासनका प्रमुख साधन मानिने राज्यका निकायहरू नै विवादमा पर्नु दुखद भएको बताएका हुन्।
उनले उन्नत लोकतन्त्रमा जन्म, पद, पहुँच, धन र शक्तिका आधारमा कोही पनि कानुन तथा सामाजिक मर्यादाभन्दा माथि हुन नसक्ने उल्लेख गरेका छन्।
'अदालत, प्रहरी, सेना लगायत राज्यका संवेदनशील अंग र न्याय तथा सुशासनका प्रमुख साधनहरू नै आचरण र नैतिकता सम्बन्धी विषयमा विवादमा तानिनु बिडम्वनापूर्ण छ,' उनले भनेका छन्, 'उन्नत लोकतन्तन्त्रमा कोही पनि जन्म, पद, पहुँच, धन, शक्तिका आधारमा कानुन र सामाजिक मर्यादाभन्दा माथि हुन सक्दैन।'
अहिले सुशासन र समृद्धि देशको प्रमुख एजेन्डा बनेको भन्दै भट्टराईले राज्यका विभिन्न अंगमा रहेका विकृति र विसंगति अन्त्य नगरी सुशासन स्थापना गर्न नसकिने बताएका छन्।
'राज्यका विभिन्न अंगमा पलाएका विकृतिविसंगति नष्ट नगरी, फोहोरमैला सफा नगरी, उपियाँ–उडुसबाट मुक्त नभई सुशासन स्थापित गर्न सकिन्न,' उनले लेखेका छन्।
सुशासनको प्रत्याभूति नभएसम्म समृद्धिको बाटोमा अघि बढ्न नसकिने उनको भनाइ छ। यद्यपि, सबैलाई एकैपटक निशाना बनाउँदा वास्तविक दोषीमाथि कारबाही हुन नसक्ने जोखिम पनि उनले औँल्याएका छन्।
'परन्तु सबै चरामाथि एकैसाथ निशाना साध्दा कुनै पनि चरा नमर्ने खतरा हुन्छ,' भट्टराईले भनेका छन्।
उनले लोकतन्त्रमा विधिको पालना सत्ताको नेतृत्वमा रहनेहरूले समेत अनिवार्य रूपमा गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित: १३ कार्तिक २०८३ १०:०५ शुक्रबार