नेकपा एमालेका सचिव महेश बस्नेतले विभेद र प्रतिशोधको राजनीतिले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु लामो नहुने स्पष्ट देखिएको बताएका छन्।
रेष्लर भगवती खड्कालाई एक विवादित महिलाको उजुरीका आधारमा साइबर अपराध मुद्दाअन्तर्गत पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै बस्नेतले यस्तो बताएका हुन्। उनले सामाजिक सञ्जालमा गरिएको सामान्य असहमतिपूर्ण टिप्पणीका आधारमा पक्राउ गरिएको घटना तीन दिन भइसकेको भन्दै उक्त पक्राउ प्रक्रियामा गृहमन्त्री सुदन गुरुङको दबाब रहेको आरोपसमेत लगाए।
'एकजना विवादित महिलाको उजुरीका आधारमा, उसको स्टाटसमा सामान्य कमेन्टमार्फत व्यक्त गरिएको असहमतिलाई लिएर रेष्लर भगवती खड्कालाई प्रहरीले साइबर क्राइम अन्तर्गत पक्राउ गरेको आज तीन दिन भएको छ,' उनले भने, 'भगवतीजीको गिरफ्तारीमा गृहमन्त्री सुदन गुरुङको समेत दबाब रहेको भनिएको छ।'
त्यस्तै, केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा बोलेको भन्दै अमिसा पराजुलीमाथि गालीगलौज र अश्लील ढंगले साइबर बुलिङ भएको बस्नेतले उल्लेख गरेका छन्। उनले उक्त घटनामा संलग्न अधिकांश रास्वपाका कार्यकर्ताविरुद्ध साइबर मुद्दा दर्ता भए पनि प्रक्रिया ढिलासुस्ती भइरहेको र हालसम्म पक्राउ पुर्जी जारी नभएको बताए।
'केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा बोलेको कारण अमिसा पराजुली नामकी बहिनीमाथि गालीगलौज र अश्लील ढंगले साइबर बुलिङ गरिएको छ। उक्त घटनामा संलग्न अधिकांश रास्वपाका कार्यकर्ताविरुद्ध उनले साइबर मुद्दा दर्ता गरेकी भए पनि प्रक्रिया ढिलासुस्ती भइरहेको छ र हालसम्म पक्राउ पुर्जी जारी गरिएको छैन,' बस्नेतले सामाजिक सञ्जालमा भने।
बस्नेतले यी घटनालाई विभेदपूर्ण र प्रतिशोधपूर्ण कार्यशैलीको उदाहरण भन्दै बालेन्द्र शाह नेतृत्वको सरकारको आयु लामो नहुने स्पष्ट देखिएको बताए। उनले यस्ता विषयमा सभ्य समाज र आम जनताले समयमै आवाज उठाउनुपर्ने भनाइ राखे। उनले भने, 'यसरी विभेदपूर्ण र प्रतिशोधी भावनाबाट अघि बढिरहेको बालेन शाह नेतृत्वको सरकारको आयु लामो नहुने स्पष्ट देखिन्छ। यस्तो विषयमा सभ्य समाज र आम जनताले समयमै आवाज उठाउन जरुरी छ।'
प्रकाशित: १९ चैत्र २०८२ ०८:५८ बिहीबार