राजनीति

मधेसी समुदायलाई उपेक्षा गरेर मुलुकको शासन चल्छ ? : सांसद सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा अमरेशकुमार सिंहले मधेस र मधेसी समुदायलाई उपेक्षा गरेर मुलुकको शासन सञ्चालन गर्न खोजिए त्यसको राजनीतिक मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। 

प्रतिनिधिसभाको बैठकमा आफ्ना धारणा राख्दै सांसद सिंहले सरकार निर्माणमा मधेसी जनताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारलाई मधेसका मुद्दाप्रति संवेदनशील बन्न आग्रह गरे। 

उनले सदनमै सरकारतर्फ लक्षित गर्दै भने, ‘मधेसीको बलमा सरकार ठड्याउनु भएको छ, मधेसीलाई उपेक्षा गरे तपाईँको नाश लेखेको छ।’ 

सिंहले मधेसलाई केवल निर्वाचनका बेला मतदाता र सरकार निर्माणका बेला राजनीतिक आधारका रूपमा प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे। मधेसी नागरिकका अधिकार, प्रतिनिधित्व, समान अवसर र विकासका सवाललाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो।  

उनको अभिव्यक्तिले सरकारको नीति तथा व्यवहारप्रति मधेसबाट उठिरहेको असन्तुष्टिलाई सदनमार्फत मुखरित गरेको छ। सिंहले मधेसी जनताको समर्थन र सहभागिताबिना राजनीतिक स्थायित्व तथा समावेशी शासनको दाबी पूर्ण नहुने संकेतसमेत गरेका छन्। 

प्रकाशित: २५ भाद्र २०८३ १७:१० बिहीबार