अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका निमित्त सचीव पद्म मैनालीले सेक्युरिटी प्रेस खरिद गर्दा ७० करोड कमिसनको मोलमोलाई भएकोबारे विस्तृत अनुसन्धान जारी रहेको बताए।
उनले सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब १० वटा निर्देशनहरूमध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणलाई आयोगले अध्ययन गरिरहेको जानकारी दिए।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा आरोपित छन्। बास्कोटा र सुरक्षण मुद्रण प्रेसका लागि स्वीस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीच खरिद लागत र त्यसबाट आउने ७० करोड कमिसनबारे भएको कुराकानीको अडियो सार्वजनिक भएको थियो।
यस्तै, सचीव मैनालीले राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित दुई–तीन वटा उजुरीहरू विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको बताए।
प्रकाशित: ४ भाद्र २०८३ १३:१९ बिहीबार



