राजनीति

कुकुर तिहारलाई अन्तर्राष्ट्रियकरण गर्नु हाम्रो प्रमुख उद्देश्य हो : प्रथम महिला काफ्ले

प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छन्।

कुकुर तिहार, २०८३ को अवसरमा प्रथम महिला काफ्लेले आइतबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पशुपन्छी तथा प्रकृतिप्रतिको सम्मान र संरक्षण गर्ने विशिष्ट परम्परा रहेको हाम्रा चाडपर्व र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गरी प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरिन्।

उनले कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई पशुप्रतिको प्रेम, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश दिने अवसरका रूपमा विश्वमाझ पुर्‍याउनुपर्ने बताइन्।

विश्वभर कुकुरप्रतिको प्रेम र आकर्षण बढिरहेको विश्व परिवेशमा कुकुरको पूजा गर्ने मुलुकको विशिष्ट सांस्कृतिक परम्परालाई नेपालले अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न सक्ने उनको भनाइ थियो। ‘कुकुर तिहारलाई अन्तर्राष्ट्रियकरण गर्नु हाम्रो एउटा प्रमुख उद्देश्य हो। कुकुरप्रतिको प्रेम र सम्मानका साथै पूजा गर्ने हाम्रो मौलिक परम्पराको सन्देश नेपालबाट विश्वभर पुर्‍याउन चाहन्छौँ’, प्रथम महिला काफ्लेले भनिन्।

उनले कुकुर तिहारलाई एक दिनको उत्सवका रूपमा मात्र सीमित नगरी वर्षभरि नै पशु कल्याणका पक्षमा विविध गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। उनले कुकुरको उचित व्यवस्थापन, खोप, स्वास्थ्य उपचार तथा उनीहरूप्रति गरिने व्यवहारमा समेत एकरूपतासहित जिम्मेवारी बोध गर्नुपर्ने खाँचो औँल्याइन्।

काफ्लेले नेपालका चाडपर्वमा प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्कने अनेकौँ मौलिक अभ्यास रहेको उल्लेख गर्दै कुकुर तिहारसँगै काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्ह: पूजा र छठ पर्वलाई पनि अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्ने धारणा राखिन्। वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने परम्परासमेत प्रकृति र मानवबिचको सम्बन्धको उदाहरण भएको उनको भनाइ थियो।

‘डिजिटल’ युगमा मानिसबिचको सम्बन्ध र मानव तथा प्रकृतिबिचको निकटता कमजोर हुँदै गइरहेको उल्लेख गर्दै उनले नेपाली मौलिक चाडपर्वले प्रकृतिसँगको सम्बन्ध पुनः स्थापित गर्ने सन्देश दिन सक्ने बताइन्।

कार्यक्रममार्फत कुकुर तिहारलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न ‘फ्रम नेपाल विथ पज’, ‘डेज अफ द डग्स’, ‘भिजिट नेपाल डग स्टे’, ‘लभ योर डग्स एभ्री डे’ र ‘कुकुर तिहार नेपाल’ लगायतका ह्यासट्यागसमेत सार्वजनिक गरिएको उनले जानकारी दिइन्।

उनले नीति निर्माण तहका पदाधिकारी, सांसद, स्थानीय तहका जनप्रतिनिधि, कलाकार, सामग्री उत्पादक, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा विभिन्न देशका राजदूतलाई नेपालको यस मौलिक परम्पराको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरिन्। ‘हाम्रा चाडपर्वमा प्रकृति र मानवबिचको सम्बन्ध जोड्ने धेरै अद्वितीय पक्ष छन्। ती पक्षलाई विश्वभर पुर्‍याउन सबैको साझा प्रयास आवश्यक छ’, उनले भनिन्।

त्यस अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने धार्मिक परम्परामा मात्र सीमित नराखी पशुप्रति वर्षभरि करुणा, माया र जिम्मेवारी देखाउनुपर्ने बताइन्। उनले पशु कल्याण र मानव स्वास्थ्य एक अर्काका पूरक विषय भएको उल्लेख गर्दै ‘एक स्वास्थ्य अवधारणा’अन्तर्गत रेबिज नियन्त्रण, खोप, बन्ध्याकरण तथा जिम्मेवार पशुपालनका लागि सरकार, स्थानीय तह र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताइन्।

मन्त्री चौधरीले कुकुर तिहारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नेपाली दूतावास, विदेशमा रहेका नेपाली समुदाय, पर्यटन प्रवर्द्धन गर्ने निकाय तथा अन्तर्राष्ट्रिय पशु कल्याणसम्बन्धी संस्थासँग सहकार्य गर्न सकिने बताइन्। यसबाट नेपालको मौलिक संस्कृति र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने उनको भनाइ थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कुकुर र मानिसको सम्बन्धको विषयमा चर्चा गर्दै कुकुर तिहारको विशेष महत्त्व रहेको बताए।

‘कुकुर र मानिसको सम्बन्ध सुरुआतदेखि नै रहँदै आएको छ, हाम्रा धर्म, संस्कृतिमा पनि कुकुरको विशेष महत्त्व रहँदै आएको छ, हाम्रा धर्मग्रन्थमा पनि कुकुरको महत्त्व उल्लेख छ’, उनले भने।

त्यस अवसरमा सबिना काफ्लेले बिन्दु नामक कुकुरको पूजा गरिन्। साथै कलाकारहरू बसुन्धरा भुसाल, भुवन भन्द, मिथिला शर्माले सशस्त्र प्रहरीको केनाइन युनिटमा तालिमप्राप्त कुकुर ‘साम्बा’लाई विशेष सम्मान गरेका थिए। कुकुर तिहारको अवसरमा सहभागीहरूले आफ्ना कुकुरहरूको पनि पूजा गरेका थिए। रासस

प्रकाशित: २२ कार्तिक २०८३ १४:५६ आइतबार