राजनीति

मितव्ययी र धाँधलीरहित निर्वाचनका लागि ठोस कार्ययोजना बनाउन निर्देशन

सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति सदस्यले निर्वाचनलाई मितव्ययी र धाँधलीरहित रूपमा सम्पन्न गर्न ठोस कार्ययोजना ल्याउन प्रस्तावित निर्वाचन आयुक्तलाई आग्रह गरिएको छ।

समितिको मंगलबारको बैठकमा प्रस्तावित आयुक्त गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौं) को सुनुवाइका क्रममा सदस्यले ठोस कार्ययोजना ल्याउन अनुरोध गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य राजीव खत्रीले निर्वाचन खर्च कम हुनुपर्ने र उम्मेदवारको निर्वाचन खर्चको विवरण वस्तविकता हुनुपर्ने, विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्नेलगायत विषयमा जवाफ मागे।

नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले निर्वाचनलाई प्रभावकारी, निष्पक्ष र  स्वतन्त्र कसारी बनाउने भनी जिज्ञासा राखेका थिए।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वर्षमान पुनले निर्वाचन क्षेत्र र मुलुकबाहिर रहने मतदातालाई मतदानमा सहभागी गराउनुपर्ने राय दिएका थिए।

जवाफमा प्रस्तावित आयुक्त वाग्लेले नेपाली नागरिकता नत्यागेका अन्य मुलुकको नागरिकता नलिएका र स्थायी बसोवासपत्र नलिएका व्यक्तिलाई कानुन बनाएर मताधिकार दिन सकिने बताए।

अर्का प्रस्तावित आयुक्त डा सुब्बाले प्रजातान्त्रिक शासन व्यवस्थामा प्रभावकारी निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलाई प्रविधिको सहयोगमा सञ्जीवनी संस्थाका रुपमा स्थापित गर्नुपर्ने बताए।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीसहित आयुक्तमा वाग्ले र डा सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। प्रस्तावित प्रमुख आयुक्त कार्कीको सुनुवाइ बुधबार हुनेछ।

प्रकाशित: १२ श्रावण २०८३ १८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App