रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्श दिएर मानसिक रूपमा तयार पारेपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागले बाढी प्रभावित स्थानीय तह र विद्यालयहरूलाई पत्राचार गर्दै विद्यार्थीको मानसिक स्वास्थ्य परीक्षण र परामर्शपछि मात्र पठनपाठन सुरु गर्न निर्देशन दिएको हो।
विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको परिपत्रमा प्राकृतिक विपद्का कारण बालबालिकामा भय, त्रास, तनाव तथा मनोसामाजिक असर परेको हुन सक्ने औंल्याइएको छ।
त्यसैले हतारमा औपचारिक पढाइ सुरु गर्नुअघि विद्यार्थीहरूको मानसिक र भावनात्मक अवस्था बुझ्नु अपरिहार्य रहेको विभागको ठहर छ।
विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहहरूलाई नजिकका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी प्रभावित बालबालिकाको मनोसामाजिक अवस्था पहिचान गर्न भनेको छ।
समस्या देखिएका विद्यार्थीलाई आवश्यक परामर्श र पुनर्स्थापनाको सहयोग उपलब्ध गराएर उनीहरू कक्षाकोठामा बस्न सक्ने अवस्थामा पुगेको सुनिश्चित भएपछि मात्र नियमित पठनपाठनको प्रबन्ध मिलाउन आग्रह गरिएको छ।
विपद्ले विद्यार्थीहरूको सिकाइ क्षमतामा पार्न सक्ने नकारात्मक असर न्यूनीकरण गर्न विद्यालयहरू पूर्णतः सुरक्षित र बालमैत्री वातावरणमा सञ्चालन हुनुपर्नेमा विभागले जोड दिएको छ।
विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायहरूबीच घनीभूत समन्वय कायम गर्दै प्रभावित बालबालिकाको शैक्षिक र मनोसामाजिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न विभागले निर्देशन दिएको छ।
प्रकाशित: २४ भाद्र २०८३ १६:२४ बुधबार