राजनीति

ट्रोल बनाएर समय बिताउनुभन्दा फिल्डमै पुगेर पीडितलाई सहयोग गर्नु : ज्वाला संग्रौला

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्वाला संग्रौलाले विपद्को समयमा सामाजिक सञ्जालमा बहस र आलोचनाभन्दा प्रत्यक्ष रूपमा राहत तथा उद्धारमा खटिनुपर्ने बताएकी छन्।

संग्रौलाले विपद् र संकटको घडीमा भाषण तथा टिप्पणीभन्दा प्रत्यक्ष सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा बहस गरेर र सहयोग गरिरहेकाहरूको ट्रोल बनाएर समय बिताउनुभन्दा फिल्डमै पुगेर पीडितलाई सहयोग गर्नुपर्ने बताएकी हुन्।

'विपद् र संकटको यो घडीमा भाषण र टिप्पणीभन्दा पनि प्रत्यक्ष सहयोगको आवश्यकता छ,' आइतबार सामाजिक सञ्जालमा उनी लेख्छिन्, 'सामाजिक सञ्जालमा बहस गरेर र केही गर्नेहरुको ट्रोल बनाएर समय बिताउनुभन्दा फिल्डमा पुगेर कसैको घाउमा मलम लगाउनु नै आजको वास्तविक धर्म हो।'

उनले आफ्नो सानो प्रयास र उपस्थितिले पनि कसैको जीवनमा दीर्घकालीन सहारा बन्न सक्ने उल्लेख गरेकी छन्। आलोचना गर्नेहरू आफ्नो काम गरिरहे पनि सहयोग र सेवामा जुट्नेहरूले आफ्नो कर्म नछाड्नुपर्ने उनको भनाइ छ।

संग्रौलाले आलोचना र नकारात्मकतालाई पन्छाउँदै सबैलाई आ–आफ्नो ठाउँबाट सेवा तथा राहतको अभियानमा जुट्न अपिल गरेकी छन्।​

'हाम्रो सानो प्रयास र उपस्थिति कसैको लागि जीवनभरको सहारा बन्न सक्छ। कुरा काट्नेहरू काटिरहन्छन्, तर काम गर्नेहरूले आफ्नो कर्म छाड्नु हुँदैन,' उनले भनिन्, 'आउनुहोस्, आलोचना र नकारात्मकतालाई पन्छाउँदै आ-आफ्नो ठाउँबाट सेवा र राहतको मैदानमा जुटौँ।'

प्रकाशित: २१ भाद्र २०८३ ०९:५९ आइतबार