राजनीति

मधेस सरकारबारे ओलीलाई गगनले भने- साथ दिनुस्, नभए राजीनामा दिन्छौं

<br>

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता मधेस प्रदेश सरकारको भविष्यमा केन्द्रित रहेको बताएका छन्।

कांग्रेस महामन्त्री राणाले मधेस सरकार जोगाउन एमालेको साथ खोजिएको र साथ नपाए सरकारबाट राजीनामा दिएर प्रतिपक्षमा बस्ने सन्देश लिएर सभापति थापा ओली निवास पुगेको खुलाएका हुन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फन्ट्रलाइन’ मा सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै राणाले यस्तो बताएका हुन्।

मधेस प्रदेशमा अहिले कांग्रेसका कृष्ण यादवको नेतृत्वमा सरकार छ। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले अबको पाँच दिनभित्र प्रदेश सभामा बहुमत सिद्ध गर्नुपर्ने बाध्यता छ। यही विषयमा निष्कर्षमा पुग्न सभापति थापाले ओलीलाई भेटेको राणाले सुनाए।

‘अहिले मधेसमा हाम्रो सरकार छ, एमालेले समर्थन फिर्ता लिएको छ, त्यसमा हामीलाई केही आपत्ति भएन,’ महामन्त्री राणाले भने, ‘तर अब हाम्रै नेतृत्वमा प्रदेश सरकार कन्टिन्यु गर्ने हो भने हामी सरकारमा रहन्छौं, कन्टिन्यु गर्ने होइन भने राजीनामा दिएर हामी विपक्षमा बस्छौं भन्ने कुरा एमाले अध्यक्षलाई स्पष्ट गर्न गएको हो।’

राणाका अनुसार मधेसका मुख्यमन्त्रीसहित एमाले र नेकपा नेताहरूले प्रधानमन्त्री र ओलीसँग भेट गरेपछि ओलीले नै कांग्रेस सभापतिलाई कुराकानीका लागि बोलाएका थिए। ओलीको सन्देश आएपछि सभापति थापा भेट्न गएको र त्यहाँ आफ्नो कुरा स्पष्ट रूपमा राखेको उनले बताए।

भेटमा मधेस प्रदेशको सत्ता समीकरणका अलावा संसद्‌मा सर्वदलीय बैठक बोलाउने विषयमा पनि दुई नेताबीच सामान्य छलफल भएको राणाले जानकारी दिए।

अन्य प्रदेशमा प्रतिपक्षमा पुगिसकेको कांग्रेसले मधेस र गण्डकीमा मात्र सरकारको नेतृत्व गरिरहेको छ। गण्डकीमा आफ्नो बहुमत पुग्ने दाबी गरेको कांग्रेसले मधेसमा भने एमालेको जवाफ पर्खिरहेको छ।

प्रकाशित: १८ कार्तिक २०८३ २१:४५ बुधबार