नेपाली कम्युनिस्ट पार्टीका नेता शक्ति बस्नेतले वामपन्थी शक्तिहरूले गर्दै आएका विभिन्न पहल र गतिविधिलाई एकीकृत गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार समाजवाद अध्ययन केन्द्र नेपालले आयोजना गरेको ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहस कार्यक्रममा बोल्दै बस्नेतले राष्ट्रियता, राष्ट्रिय हित र लोकतन्त्रका पक्षमा वामपन्थी शक्तिहरूले गर्दै आएका प्रयासलाई एकताबद्ध गर्न सके मात्र त्यसले ठोस परिणाम दिन सक्ने बताएका हुन्।
उनले विगतमा वामपन्थी शक्तिका पहल र गतिविधिहरू अलग–अलग हुँदा अपेक्षाअनुसारको परिणाम हासिल हुन नसकेको अनुभवबाट पाठ सिक्नुपर्ने बताए।
‘हामीले विभिन्न कोणबाट, विभिन्न ढङ्गले राष्ट्रियता, राष्ट्रिय हित र लोकतन्त्रका पक्षमा योगदान गर्दै आयौँ। ती सबै कुराले हामीलाई सिकाएको छ,’ उनले भने।
बस्नेतले वामपन्थी शक्तिका सबै पहलकदमीलाई एकीकृत र एकताबद्ध रूपमा अघि बढाउँदा मात्र उपलब्धि हासिल गर्न सकिने बताए।
‘जतिबेला हाम्रा पहलहरू अलग–अलग भए, हाम्रा गतिविधिहरू फरक–फरक भए, त्यसले परिणाममा व्यक्त हुन सकेन। जतिबेला हाम्रा सबै पहलकदमीलाई एकीकृत ग¥यौँ, एकताबद्ध भएर प्रस्तुत ग¥यौँ, त्यतिबेला सबै प्रयत्नहरू उपलब्धिमा संश्लेषण हुन पुगे,’ उनले भने।
उनले राजनीतिक शक्तिहरूले आफ्ना इच्छा र चाहनालाई सामाजिक जीवनको यथार्थसँग जोडेर अघि बढाउनुपर्ने धारणा पनि राखे।
‘कहिलेकाहीँ हाम्रा इच्छा र चाहनाहरू सामाजिक जीवनका यथार्थभन्दा अलि पर पुगे। त्यतिबेला हाम्रा प्रयासहरूले सफलता र उपलब्धिलाई भेट्न सकेनन्,’ बस्नेतले भने।
विगतका अनुभवबाट पाठ सिक्दै वामपन्थी आन्दोलनलाई थप प्रभावकारी, व्यावहारिक र परिणाममुखी बनाउनुपर्नेमा उनले जोड दिए। उनका अनुसार राजनीतिक शक्तिका लक्ष्य र जनजीवनका वास्तविकताबीच उचित तालमेल कायम गर्न सके मात्र वामपन्थी आन्दोलनले अपेक्षित उपलब्धि हासिल गर्न सक्छ।
प्रकाशित: ३१ श्रावण २०८३ २१:५० आइतबार



