एमाले नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले हचुवाका भरमा गरिएको निर्णयले बन्द भएका सरकारी उद्योग सञ्चालन हुन नसक्ने बताएका छन्।
मंगलबार विराटनगरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यस्तो बताएका हुन्।
‘पाण्डेले हिजो के कारणले बन्द भयो र आज के कारणले सञ्चालन हुन्छ ? भन्ने विश्लेषण नगरी हचुवाका भरमा निर्णय गरेर सरकारी स्वामित्वका बन्द उद्योग सञ्चालन हुन सक्दैनन्।’
पाण्डेले बन्द भएका उद्योग सञ्चालन गर्ने नाममा सरकारले ठुलो रकम निकासा गरिरहेको भन्ने आफूहरूलाई जानकारीमा आएको उल्लेख गर्दै उनले सरकारले अर्बौँ रुपैयाँ लगानी गरेर सञ्चालन गर्न खोजिरहेका उद्योगहरू फेरि बन्द भए त्यसको जिम्मेवारी कसले लिने ? भन्दै प्रश्न पनि गरे।
पाण्डेले सरकारी लगानीको उद्योगहरू सञ्चालन गर्न सहज नभएको दाबी गरे। ‘सरकारी उद्योगहरूमा निर्णय प्रक्रिया,कच्चापदार्थ खरिदमा समेत सार्वजनिक खरिद नियमावलीका मापदण्ड लागू हुने, कर्मचारी भर्ना गर्न अपनाउनुपर्ने लामो प्रक्रिया लगायतका थुप्रै कारणले सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्न सहज छैन’,उनले भने।
यस्तै उनले सरकारमा पटक–पटक बसेकाले आफूले सरकारको खुट्टी छामिसकेको दाबी गरे। देश कसले बनाउने भन्दा सरकारले भन्ने गरिने र सरकारले नै देश बनाउने भए पनि सरकारले मात्रै देश बनाउन नसक्ने पाण्डेले स्पष्ट पारे।
निजी क्षेत्रको मनोबल नबढेसम्म देश बन्न नसक्ने उनले स्पष्ट पारे। देशमा अहिले सुरक्षाको प्रत्याभूति नभएको उनले बताए। जबसम्म सुरक्षाको प्रत्याभूति हुँदैन तबसम्म लगानी आकर्षित नहुने उनले स्पष्ट पारे।
लगानीका लागि प्रधानमन्त्रीले आह्वान गरिरहेको सन्दर्भमा पाण्डेले प्रधानमन्त्रीले आह्वान गर्दैमा लगानी नआउने दाबी गरे। पाण्डेले भने,‘प्रधानमन्त्रीले आह्वान गर्दैमा लगानी आउँदैन। लगानीका लागि सुरक्षाको प्रत्याभूति हुनै पर्छ।’
वैदेशिक लगानीका लागि स्थानीय लगानीकर्ताको मनोबल बढाउनुपर्ने बताउँदै उनले स्थानीय लगानीकर्ताको मनोबल नबढी विदेशी लगानी आउने सम्भावना नरहेको स्पष्ट पारे।
उनले सुरक्षाको प्रत्याभूति नभएकाले लगानीको वातावरण तयार पार्न पहिले सुरक्षाको प्रतिभूति दिन सरकारलाई आग्रह गरे।
प्रकाशित: २ भाद्र २०८३ १७:१५ मंगलबार



