भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतको ८०औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएकोमा धन्यवाद व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जाल ‘एक्स’ (ट्वीटर) मार्फत सभापति लामिछानेको सन्देशलाई उद्धृत गर्दै मोदीले आभार प्रकट गरेका हुन्।
प्रधानमन्त्री मोदीले दुई देशको साझा प्रगति र समृद्धिका लागि नेपाल-भारतबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन भारत प्रतिबद्ध रहेको बताए।
‘न्यानो शुभकामनाका लागि धन्यवाद रवि लामिछानेजी,‘ मोदीले लेखेका छन्, ‘हामी पारस्परिक प्रगति र समृद्धिका लागि भारत र नेपालबीचको गहिरो मित्रताको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्ध छौं।’
यसअघि रास्वपा सभापति लामिछानेले ‘एक्स’ मार्फत भारतको ८०औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री मोदी, भारत सरकार र त्यहाँका जनतालाई हार्दिक शुभकामना व्यक्त गरेका थिए।
उनले शुभकामना सन्देशमा नजिकको छिमेकीका रूपमा दुई देशबीच गहिरो र ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका थिए।
प्रकाशित: ३० श्रावण २०८३ १७:३८ शनिबार