राजनीति

बालेन्द्रलाई ‘युवा आन्दोलनबाट प्रधानमन्त्री बन्नुभयो’ भन्दै भारतीय सांसदले मोदीमाथि उठाइन् प्रश्न

भारतीय विपक्षी दल भारतको तृणमूल कांग्रेस (टीएमसी) की सांसद महुआ मोइत्राले प्रधानमन्त्री बालेन्द्र्द्र शाह (बालेन्द्र) लाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि प्रश्न उठाएकी छन्। 

मोदीले बालेन्द्रसँग आत्मीय सम्बन्ध देखाइरहेका बेला नेपाली मूलकी आमा भएका भारतीय युवा नेता सौरभ दासलाई बेलायतको अक्सफोर्ड युनियनमा बोल्न जानबाट रोकिएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन्।

सांसद मोइत्राले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘प्रिय बालेन, हाम्रा प्रधानमन्त्री तपाईंसँग निकै नजिकिएको देखिन्छ। तर अर्कोतर्फ नेपाली मूलकी आमा भएका जेनजी नेता सौरभ दासलाई अक्सफोर्ड युनियनमा बोल्न जानबाट रोकिएको छ।’

उनले थप लेखेकी छन्, ‘तपाईं युवा आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभयो। हेर्नुहोस्, हाम्रा प्रधानमन्त्रीले आफ्नै युवालाई कस्तो व्यवहार गर्छन्! लाजमर्दो!’

मोइत्रा पश्चिम बंगालको कृष्णनगर निर्वाचन क्षेत्रबाट निर्वाचित लोकसभा सदस्य हुन्। उनी भारतीय संसद्मा मोदी सरकारका निर्णय र नीतिमाथि प्रश्न उठाउँदै आएकी विपक्षी नेताका रूपमा चिनिन्छिन्।

सौरभ दास खोजमूलक पत्रकार तथा ‘कक्रोच जनता पार्टी’ का सहसंयोजक हुन्। उनलाई नोभेम्बर २३ मा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीले लन्डन जानबाट रोकेका थिए। उनी अक्सफोर्ड युनियनमा ‘कक्रोच आन्दोलन’बारे बोल्न जाने तयारीमा थिए।

दासले आफूलाई सरकारले विदेश जानबाट रोकेको आरोप लगाएका छन्। तर भारतीय सञ्चारमाध्यमले सरकारी स्रोतलाई उद्धृत गर्दै उनको राहदानीमा जन्मस्थानसम्बन्धी त्रुटि रहेको र त्यसबारे सात दिनभित्र जवाफ दिन सूचना जारी गरिएको जनाएका छन्। 

प्रधानमन्त्री शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा मोदीसँग भएका भेटघाट र आत्मीयतापूर्ण तस्बिर सार्वजनिक भएका थिए। यही प्रसंगलाई जोड्दै मोइत्राले बालेन्द्रलाई युवा आन्दोलनबाट उदाएका नेताका रूपमा उल्लेख गरेकी हुन्। 

उनले मोदीको शाहसँगको कूटनीतिक निकटता र आफ्नै देशका युवाप्रतिको व्यवहारबिच विरोधाभास रहेको भन्दै प्रश्न उठाएकी छन्।

प्रकाशित: ८ मंसिर २०८३ १७:३५ मंगलबार