दुईदिने राजकीय भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा रहेका प्रधानमन्त्री बालेन शाहलाई भेट्न भारतीय विदेशमन्त्री डा. एस. जयशंकर आइपुगेका छन्।
भ्रमणको पहिलो दिन आइतबार साँझ शिष्टाचार भेटवार्ताका लागि जयशंकर नयाँदिल्लीस्थित होटल ताजमा पुगेका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा पहिलो द्विपक्षीय भ्रमणका लागि आज दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौंबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत उडेका शाह ३ बजेर १८ मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।
विमानस्थलमा शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। त्यसक्रममा भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले सलामी दिनुका साथै विमानस्थल बाहिर सांस्कृतिक नाचमार्फत स्वागत गरिएको थियो।
भ्रमणको दोस्रो दिन भोलि (सोमबार) बिहान राष्ट्रपति भवनमा शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले भारतीय समय अनुसार बिहान १० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
लगत्तै हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता र करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता हुनेछ।
बैठकपछि दुवै प्रधानमन्त्रीले अयोध्या-जनकपुरधाम सीधा रेल सेवा तथा अन्य ऊर्जा र सम्पर्क सञ्जालसम्बन्धी परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ। भोलि नै शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।
भ्रमणका क्रममा भारतले प्रस्ताव गरेको ‘संयुक्त भिजन दस्तावेज’ सार्वजनिक गर्ने तयारी छ भने विभिन्न क्षेत्रमा समझदारीपत्र (एमओयू) आदानप्रदान हुनेछ।
सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह भोलि साँझ ६ बजेर ३५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ।
प्रकाशित: ६ मंसिर २०८३ १८:३३ आइतबार



