भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चार दिने नेपाल भ्रमणका क्रममा उनी आइतबार काठमाडौं आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले सेठको स्वागत गरेका थिए।
नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन्। नेपाली सेनाका अनुसार सेठले सोमबार नेपालको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने छन्। पाँच सदस्यीय भ्रमण दलमा प्रधानसेनापति सेठकी पत्नी कोमल सेठ पनि सहभागी छिन्। सेठलाई सोमबार शीतलनिवासमा विशेष समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।
सेठले २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी समालेका थिए। प्रधानसेनापति बनेपछिको उनको नेपालमा पहिलो विदेश भ्रमण भएको हो। सन् १९५० यता भारतका प्रधानसेनापतिलाई नेपालको र नेपालकालाई भारतको मानार्थ महारथीको दर्जा दिने परम्परा छ।
प्रधानसेनापति सिग्देलले २०८१ मंसिरमा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुबाट भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन्। नेपाल भ्रमणका क्रममा सेठले रक्षामन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलगायतलाई भेट्ने कार्यक्रम छ। मित्रराष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबिचको सैनिक सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले बताएको छ।
प्रकाशित: १ भाद्र २०८३ ०८:१४ सोमबार