नेपालको सुरक्षा व्यवस्थालाई लिएर भारत सरकारले प्रश्न उठाएको छ। जेनजी आन्दोलनको क्रममा सुरक्षा अंगबाट लुटिएका हतियार र भागेका अपराधीहरूको अवस्था अज्ञात रहेको भन्दै भारतले नेपालको फितलो सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएको हो। साथै भारतीय प्रहरीले नेपालको सीमा क्षेत्रका कडाइ गर्न र भारततर्फ अपराधी आउन नदिने सहयोग समेत मागेको छ।
भारतको बिहार प्रदेशसँग सीमा जोडिएका नेपालका पाँच प्रदेशका सशस्त्र प्रहरी बलका डिआइजी (सशस्त्र प्रहरी नायव महानिरीक्षक)लाई बुधबार भारतको बिहारमा बोलाएर यस्तो प्रश्न उठाएको हो। बिहारसँग सीमा जोडिएका तथा त्यससँग सम्बन्ध राख्ने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सशस्त्र प्रहरीका डिआइजीहरू बिहार प्रदेश पुगेका थिए। भारतीय अधिकारीहरूले नेपालको वर्तमान सुरक्षा व्यवस्थाबारे भारत सरकार आश्वस्थ हुन नसकेको जनाएका थिए। उनीहरू भारतीय सीमा सुरक्षा (एसएसबी) को निमन्त्रणामा बिहारमा गएका हुन्।
मधेशबाट कृष्ण ढकाल, कोशीबाट एसएसपी विक्रम हुँमागाँई गएका थिए। बागमतीबाट अञ्जनी पोखरेल, गण्डकीबाट दीपेन्द्र शाह सहभागी भएका थिए। लुम्बिनीका डिआइजी दीपेन्द्र कुँवर भने विरामी भएको बहानामा सहभागी भएका थिएनन। त्यसैगरी बारा, पर्सा, रौतहट र धनुषाका गणपतिहरू पनि सहभागी भएका थिए। तर उनीहरूलाई मुख्य बैठकमा सहभागी गराइएको थिएन।
बिहारमा हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीका डिआइजीलाई विरगञ्जपारी बिहारमा बोलाइएको थियो। सशस्त्र प्रहरीका डिआइजीहरूले जेलबाट भागेका अपराधी पक्राउमा सहयोग गरेकोमा भारतीय सीमा सुरक्षा बलको खुलेर प्रशंसा गरेका थिए।
बिहारमा कात्तिक २० र २५ गते विधान सभाको निर्वाचन हुँदैछ। सुशीला कार्की नेतृत्वको सरकार गठन भएको सन्दर्भमा भारतले सशस्त्र प्रहरी बललाई निमन्त्रणामा गरेर सुरक्षा अवस्था कमजोर भएको र त्यसमा भारतीय पक्ष आश्वस्थ हुन नसकेको बताउनुलाई अर्थपूर्ण मानिएको छ। यो विषयमा सशस्त्र प्रहरी बलले औपचारिक रूपमा केही बतएको छैन।
‘जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदी बिहारको निर्वाचनमा दुरुपयोग नहोस् भनेर भारतीय पक्षले विशेष चाँसो राखेको थियो,' सशस्त्र प्रहरीका एक डिआइजीले भने, ‘उनीहरूको चासो नेपालमा भएको आन्दोलनले भारतमा पारेको प्रभाव र लद्धाखमा भएको बम विस्फोटबारे पनि थियो।’
भारतीय पक्षले विहारमा हुने निर्वाचन अवधिभर सीमामा निगरानी, गस्ती , पेट्रोलिङ, सतर्कता बढाइदिन आग्रह गरेको थियो। ‘भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रमा कडाइ गरिदिन आग्रह गरेको छ, यसमा हामीले सकारात्मक बचन दिएका छौं साथै उनीहरूले गरेको सहयोग पनि खुलेर प्रशंसा गरेका छौं.,’ ती डिआइजीले नागरिकसँग भने।
प्रकाशित: ३० आश्विन २०८२ २२:३९ बिहीबार