राजनीति

महाराष्ट्रमा टीईटी परीक्षाको प्रश्नपत्र लीक, के भन्छन् कक्रोच जनता पार्टी ?

भारतको महाराष्ट्रमा आइतबारका लागि तय गरिएको शिक्षक पात्रता परीक्षा (टीईटी) को प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको छ। महाराष्ट्र राज्य परीक्षा परिषदले प्रश्नपत्र बाहिरिएको पुष्टि गर्दै परीक्षा स्थगित भएको जनाएको हो।

राज्यभरका कुल १ हजार २८ केन्द्रहरूमा सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि ४ लाख २८ हजार १२२ परीक्षार्थीले दर्ता गराएका थिए।

यसमध्ये २ लाख २६ हजार ३६३ कार्यरत शिक्षकहरू परीक्षामा सहभागी हुँदै थिए। परीक्षा परिषदले हालैको नीट २०२६ परीक्षामा देखिएका अनियमिततालाई ध्यानमा राख्दै कडा सुरक्षा व्यवस्था अपनाए पनि प्रश्नपत्र बाहिरिनबाट रोक्न सकेन।

पुणेस्थित परीक्षा परिषदका अनुसार जुन २७ को बिहानै भिवन्डीमा केही व्यक्तिहरूसँग प्रश्नपत्रका विवरणहरू रहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

पछि परीक्षा परिषदका अधिकारीहरूले भिवन्डी प्रहरी चौकी पुगेर प्रमाणीकरण गर्दा बरामद प्रश्नहरू सक्कली प्रश्नपत्रसँग मिल्दोजुल्दो पाएका थिए। यस सम्बन्धमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

प्रश्नपत्र बाहिरिएपछि विपक्षी दलहरूले वर्तमान सरकारलाई ‘पेपर लीक सरकार’ भन्दै आलोचना गरेका छन्। भारतीय कांग्रेसले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेको छ, ‘महाराष्ट्रमा टीईटीको पेपर लीक भएको छ। बीजेपी सरकारमा यस्तो कुनै परीक्षा छैन जसको पेपर लीक नहोस्।’

यस्तै, जन्तर मन्तरमा नीट परीक्षाको विषयलाई लिएर शिक्षा मन्त्रीको राजीनामा मागिरहेको ‘कक्रोच जनता पार्टी’ ले पनि एक्समा आक्रोश व्यक्त गरेको छ।

कक्रोच जनता पार्टीले लेखेको छ, ‘मुलुकका मन्त्रीहरूले आफ्नो असफलताको जिम्मेवारी कहिल्यै नलिने कसम खाएका छन्। जनताले यो सब सहनुपर्नेछ किनभने मन्त्रीहरू कहिल्यै जवाफदेही हुँदैनन्।’

परीक्षा स्थगित भएपछि परीक्षार्थी र शिक्षकहरूमा व्यापक आक्रोश र चिन्ता छाएको छ। अदालतमा यसअघि नै टीईटी परीक्षा रद्द गर्न रिट दायर गरेकी किरण शिन्देले यसलाई प्रणालीको ठूलो कमजोरी भन्दै चिन्ता व्यक्त गरेकी छन्।

यस्तै, प्रधानाचार्य संघका पूर्व अध्यक्ष महेन्द्र गणपुलेले यस घटनाले परीक्षा प्रणालीप्रतिको विश्वास नै धर्मराएको बताएका छन् भने शिक्षक कल्याण संघका अध्यक्ष प्रकाश पवारले घटनाको घोर निन्दा गर्दै उच्चस्तरीय छानबिनको माग गरेका छन्।

यसैबीच, महाराष्ट्र परीक्षा परिषदकी उपायुक्त प्रिया शिन्देले पत्रकार सम्मेलन गर्दै स्थगित परीक्षाको नयाँ मिति दुई–तीन दिनभित्र सार्वजनिक गरिने जानकारी दिएकी छन्।

उनले पुनः परीक्षाका लागि परीक्षार्थीहरूले थप शुल्क तिर्नु नपर्ने र पुनः दर्ता पनि गर्नुनपर्ने स्पष्ट पारेकी छन्।

प्रकाशित: १३ असार २०८३ १६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App