राजनीति

गुलरियामा अनिश्चितकालिन निषेधाज्ञा

गुलरियामा अनिश्चितकालिन  निषेधाज्ञा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गुलरिया बजार क्षेत्रमा सोमबार साँझ ६ बजेदेखि अर्को आदेश नआएसम्म अनिश्चितकालिन  निषेधाज्ञा गरेको हो । यस अवधिमा कुनै प्रकारका जुलुस, प्रदर्शन र सभा सम्मेलन एवंम् ५ जना भन्दा बढी व्यक्तिहरुको आवागमनमा प्रशासनले रोक लगाएको हो ।  

गुलरियामा केही दिन देखि भईरहेको उच्छिङ्खल गतिविधिले हुन सक्ने दुर्घटनालाई मध्यनजर गरि प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा गरेको छ । गुलरियाको पूर्वमा गणेशपुर चोकदेखि पश्चिममा बबई बहुमुखी क्याम्पस र उत्तरमा जिल्ला समन्वय समितिको कार्यालय देखि दक्षिण भारतको सीमा नाकासम्म प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

सोमबार भन्सार तिरबाट बजार तर्फ आउँदै गरेको समुहलाई प्रहरीले रोक्न खोज्दा झडपको स्थिती सिर्जना भएको थियो । प्रहरी र समुह बिच झडप हुँदा सशस्त्र प्रहरीसहित ९ जना घाईते भएका थिए । भिड नियन्त्रणको लागि प्रहरीले अश्रुग्याँस र हवाई फायरे गरेको थियो ।

‘सुरुमा एक जना सशस्त्र प्रहरीसहित ५ जना घाईते उपचारको लागि अस्पताल आएका थिए,’अस्पतालका सुचना अधिकारी केशव न्यौपानेले भने,‘उहाँहरुको सामान्य उपचारपछि थप उपचारको लागि नेपालगंज भेरीमा रिफर गरेका छौं ।’

घाईते सशस्त्र प्रहरी जवानको नाकमा चोट लागेको छ भने गुलरिया नगरपालिका–९ का बिपिल बरीको हातमा गोली लागेको छ । अस्पताल स्रोतका अनुसार घाईते मध्ये हात र टाउकोमा गरि दुई जनालाई छर्रा लागेको छ । पछि आएका चार घाईते उपचारपछि घर फर्किएको अस्पतालले जनाएको छ ।  

बजार क्षेत्रमा केही उच्छिङ्खल समुहले सुरक्षाकर्मीलगायत सरकारी कार्यालय भन्सार उपर आक्रमण गरि हिंसात्मक कार्यमा संलग्न भएको विषयलाई ध्यानमा राखी सृजना हुने सक्ने अराजक, अशान्ति, हिंस्रक झडपको स्थितीको सम्भावना देखिएकोले सर्वसाधारणको जीउधनको सुरक्षाका साथै शान्ति, सुरक्षा, अमन चयन सहिष्णुता, सद्भाव र भाईचारा कायम राख्न आवश्यक देखिएकोले ५ जना भन्दा बढी व्यक्ति भेला हुन नपाउने गरि ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा (३क)बमोजिम देहायका स्थानहरुमा निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ । 

उक्त आदेशको बर्खिलाप गरि बिना स्विकृती ५ जना भन्दा बढी व्यक्ति आवत जावत, भेला वा निषेधित कार्य गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गर्न सक्ने प्रशासनले विज्ञप्तीमार्फत जनाएको छ । 

प्रकाशित: २३ भाद्र २०८२ २०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App