नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले इनम सापकोटा प्रकरण सामान्य घटना मात्र नभई नेपालको राज्य र सामाजिक चरित्रको प्रतीकात्मक प्रतिबिम्ब भएको बताएका छन्।
उनले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनले लोकतान्त्रीकरणको सन्दर्भमा गुणात्मक फड्को मारे पनि राज्यका सबै संयन्त्रको सोहीअनुसार लोकतान्त्रिक रूपान्तरण हुन नसकेको टिप्पणी गरेका छन्।
सामन्तवादको अन्त्य भए पनि नेपालको पुँजीवादीकरणको प्रक्रियामा राष्ट्रिय पुँजीको सट्टा दलाल पुँजीवादले प्रभुत्व जमाएको उनको भनाइ छ। साथै नेपालमा मात्र नभई भूमण्डलीकृत वित्तीय पुँजीवाद विश्वकै मूल प्रवृत्ति बनेको वर्तमान अवस्थामा सामन्तवादबाट पुँजीवादतर्फ अघि बढेका अन्य मुलुकमा पनि देखिएको उनको भनाइ छ।
नेपालमा लोकतान्त्रिक क्रान्ति सम्पन्न हुँदा राज्यका प्रमुख अंग सेना, न्यायालय र कर्मचारीतन्त्रको ठोस रूपान्तरण हुन नसकेको उनले उल्लेख गरेका छन्। यसले राज्य र समाजमा दलाल पुँजीवादी प्रवृत्ति तथा राज्यका प्रमुख अंगमा परम्परागत यथास्थितिवादी चरित्र कायम रहन मद्दत गरेको उनको विश्लेषण छ।
राजनीतिक परिवर्तन र संविधानलाई आधार बनाएर परिवर्तनका लागि संघर्ष गरेका राजनीतिक दल तथा तिनका सरकारले राष्ट्रिय पुँजीको विकास र राज्यको समग्र लोकतान्त्रिकीकरणको नेतृत्व गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको श्रेष्ठको भनाइ छ।
क्रान्तिकारी तथा लोकतान्त्रिक संघर्षको नेतृत्व गरेका स्थापित राजनीतिक शक्ति र तिनका सरकारले यो मूल कार्यभार पूरा गर्न नसकेको र त्यसलाई प्राथमिकतामा समेत राख्न नसकेको उनले बताएका छन् । बरु ती शक्तिहरू आफैँ पनि यही प्रवृत्तिबाट प्रभावित हुन पुगेको उनको भनाइ छ।
राज्य र समाजमा दलाल पुँजीवादी प्रवृत्ति हाबी भइरहेको र त्यसैलाई आधार बनाएर भूराजनीतिक रणनीतिक खेलको अंगका रूपमा दक्षिणपन्थी पपुलिस्ट शक्तिहरूको सरकारसहितको वर्तमान राजनीतिक परिस्थिति निर्माण भएको श्रेष्ठले बताएका छन्।
उनले संविधानले निर्देश गरेअनुसार समाजवादउन्मुख दिशामा अघि नबढेसम्म दलाल पुँजीवादको अन्त्य र राष्ट्रिय पुँजीको विकास सम्भव नहुने धारणा राखेका छन् । पछिल्ला घटनाक्रमले राज्यका अंगहरू कति दलालीकरण भएका छन् भन्ने स्पष्ट पारेको पनि उनको भनाइ छ।
प्रकाशित: १४ कार्तिक २०८३ १६:१९ शनिबार