जेनजी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणसँग जोडिएका विषयको निष्पक्ष र व्यापक अनुसन्धानका लागि शक्तिशाली स्वतन्त्र नागरिक आयोग (लोकपाल) गठन गर्न माग गरेका छन्।
आइतबार जेनजी मुभमेन्ट नेपालको तर्फबाट एक प्रेस वक्तव्य जारी गर्दै हमालले न्यायालयदेखि कार्यपालिकासम्मका सम्भावित सम्पर्क, समन्वय, आर्थिक कारोबार, अनुचित प्रभाव र शक्ति दुरुपयोगका विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने बताएका हुन्।
उनले सार्वजनिक भइरहेका विवरण र अनुसन्धानसँग सम्बन्धित विषयसमेत एकपक्षीय ढंगले सार्वजनिक भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यो प्रकरण कुनै एक व्यक्ति वा संस्थामा सीमित राख्न नहुने उल्लेख गरेका छन्।
हमालले न्यायालयका व्यक्तिहरूमाथि प्रश्न उठ्दा सांसद, मन्त्री, प्रधानमन्त्री कार्यालयका पदाधिकारी तथा कार्यपालिकासँग सम्बन्धित व्यक्तिहरूलाई अनुसन्धानको दायराबाहिर राख्न नहुने बताएका छन्। उनका अनुसार छानबिनको दायरा पद, पहुँच र राजनीतिक शक्तिका आधारमा निर्धारण हुनु हुँदैन।
उनले उच्च नैतिक चरित्र भएका प्रबुद्ध र निष्पक्ष व्यक्तिहरू सम्मिलित आयोग गठन गर्नुपर्ने तथा त्यसलाई व्यापक कानुनी अधिकार र संस्थागत स्वायत्तता प्रदान गरिनुपर्ने माग गरेका छन्।
आयोगलाई आवश्यक कागजात तथा अभिलेख झिकाउने, सम्बन्धित व्यक्तिहरूलाई उपस्थित गराउने, प्रमाण संकलन गर्ने र कानुनी प्रक्रियाअनुसार कारबाहीका लागि सिफारिस गर्ने अधिकार हुनुपर्ने उनको भनाइ छ। आयोग कुनै पनि राजनीतिक वा प्रशासनिक दबाबबाट मुक्त हुनुपर्नेमा समेत उनले जोड दिएका छन्।
'राज्यको संस्थागत शुद्धीकरण हुनैपर्छ, त्यसैका लागि जेनजी आन्दोलन भएको थियो,' हमालले वक्तव्यमा भनेका छन्।
उनले आरोपित सबैलाई निष्पक्ष सुनुवाइको अधिकार सुनिश्चित गर्दै प्रमाणका आधारमा दोषी देखिने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
सरकार वा राजनीतिक नेतृत्व परिवर्तन मात्रै वास्तविक परिवर्तन नभएको उल्लेख गर्दै हमालले राज्य सञ्चालनको संस्कार र जवाफदेहितामा संरचनात्मक परिवर्तन हुनुपर्ने धारणा राखेका छन्।
प्रकाशित: १५ कार्तिक २०८३ १०:४८ आइतबार