सरकार र राजनीतिक दलहरूसँगको त्रिपक्षीय वार्तामा जेन-जी प्रतिनिधिहरूले निर्वाचन मात्रै आफ्नो अन्तिम लक्ष्य नभएको स्पष्ट पारेका छन्।
उनीहरूले चुनावको मिति तोकिनु सकारात्मक भए पनि आन्दोलनको मुख्य एजेन्डा सुशासन र भ्रष्टाचारविरुद्धको ठोस कारबाही भएको भन्दै सरकार र दलहरूको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार बालुवाटारमा भएको वार्तामा जेन-जी प्रतिनिधिहरूले गत भदौ २३ गतेको आन्दोलनको जनादेशलाई नबिर्सन आग्रह गरे।
‘हामीलाई चुनाव चाहिएको छ, गर्नुपर्छ पनि। तर, चुनाव-चुनाव भनेर मात्रै हुँदैन,’ एक जेन-जी प्रतिनिधिले बैठकमा भने, ‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो, भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।’
उनीहरूले देशमा व्याप्त भ्रष्टाचारको अन्त्य नभएसम्म र सुशासनको प्रत्याभूति नभएसम्म निर्वाचनले मात्रै जनताको जीवनमा सार्थक परिवर्तन नल्याउने तर्क प्रस्तुत गरेका थिए।
वार्तामा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि जेन-जी प्रतिनिधिहरूले चुनावको समर्थन गरे पनि उनीहरूको मुख्य चासो भ्रष्टाचार नियन्त्रण र सुशासनमै रहेको बताए।
‘उहाँहरूले चुनावलाई समर्थन गर्नुभएको छ। तर, त्यससँगै सुशासन र भ्रष्टाचारको अन्त्य सँगसँगै हुनुपर्छ भन्नेमा जोड दिनुभएको छ,’ मन्त्री खरेलले जेन-जी प्रतिनिधिहरूको भनाइ उद्धृत गर्दै भने, ‘उहाँहरूले राजनीतिक दलहरूलाई थप जिम्मेवार बन्न पनि आग्रह गर्नुभएको छ।’
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री खरेल तथा प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रतिनिधिहरूको सहभागिता थियो।
जेन-जीका तर्फबाट विभिन्न तीन समूहका १३ जना प्रतिनिधि सहभागी थिए।
प्रकाशित: १२ कार्तिक २०८२ २०:५८ बुधबार