नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशन विवादित भएको छ। क्षेत्रीय सभापतिसहित विभिन्न वडाका सभापतिहरूले पत्रकार सम्मेलन गर्दै क्षेत्रीय अधिवेशन बहिष्कार गरेको जानकारी दिएका छन्।
६ नम्बरका क्षेत्रीय सभापति देवु तामाङसहित विराटनगर, सुन्दरहरैँचा र बुढीगंगाका वडा सभापतिहरूले शुक्रबार सन्दरहैँचामा पत्रकार सम्मेलनको आयोजना गरेर सीमित व्यक्तिहरूले पार्टीको विधि, विधान र लोकतान्त्रिक प्रक्रिया मिचेर गर्न लागेको अधिवेशनको कुनै औचित्य नभएको हुँदा बहिष्कार गरेको बताएका छन्।
बुधबार सुन्दरहरैँचामा भएको क्षेत्रीय अधिवेशनका क्रममा क्रियाशील सदस्यताको विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिँदै झडप तोडफोडको स्थितिमा पुगेको थियो।
उक्त झडपमा तीन जना घाइते भएपछि निर्वाचन प्रक्रिया प्रभावित भई रोकिएको थियो। विवाद भएपछि रोकिएको निर्वाचन प्रक्रियालाई सुचारु गर्नका लागि पार्टीको केन्द्रीय कार्यालयबाट बिहीबार मात्रै मोरङ जिल्लाका सहसचिव सञ्जयकुमार मण्डललाई संयोजकको जिम्मेवारी दिएको थियो।
मण्डलले संयोजकको जिम्मेवारी पाएसँगै शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रिया अघि बढाएका छन्।
बुढीगंगा गाउँपालिका–३ बाँसबारीस्थित राजवंशी खवास सामुदायिक भवनमा शुक्रबार बिहान ७ बजेदेखि क्षेत्रीय अधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको हो।
पार्टीभित्र उत्पन्न विवादलाई संवाद, सहमति र विधिसम्मत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा पार्टीको शीर्ष नेताबाटै परिस्थितिलाई थप जटिल बनाइएको भन्दै उनीहरूले अधिवेशन बहिष्कार गरेको बताएका छन्। उनीहरूले पार्टीकी सहमहामन्त्री डा.डिला संग्रौलाको भूमिकामाथि समेत प्रश्न उठाएका छन्।
बाँसबारीस्थित खवास सामुदायिक भवनमा हुने भनिएको अधिवेशन वैधानिक नभएको बताउँदै क्षेत्रीय सभापति तामाङले भने, ‘क्षेत्रीय सभापतिसँगै क्षेत्रका वडालाई समेत कुनै जानकारी नदिई आफू खुसी ढंगबाट गरेको अधिवेशनको कुनै औचित्य छैन। क्षेत्रमा बुधबारबाट विवाद सुरु भएको हा । सहमहामन्त्रीको विषयले विवादलाई लम्बाएको छ। यहाँ सहजीकरण गर्दै छलफल गरेर अधिवेशन गर्नुपर्नेमा एकलौटी तवरबाट अधिवेशन आयोजना गर्नु दुखद कुरो हो। क्षेत्रका ठुलो संख्यामा रहेका साथीहरूलाई बाहिर राखेर आयोजना गरिएको अधिवेशन मान्य हुनेछैन। यस्तो अवस्थामा हामी त्यहाँ सहभागी हुँदैनौ। हामी बाहिर नै छौँ।’
पार्टीको आधिकारिक र वैधानिक पक्ष आफूहरू रहेको दाबी गर्दै सभापति तामाङले अहिले हुन गइरहेको अधिवेशनबारे सभापति, वडाध्यक्षदेखि प्रतिनिधिहरूलाई समेत कुनै जानकारी छैन।
सभापति तामाङले भने, ‘बुधबारको घटनापछि पनि पार्टी सभापतिसँग निरन्तर संवादमा छु। वार्ता र संवादबाट समस्या हल गर्ने आश्वासन सभापतिबाट पाए पनि विना जानकारी अधिवेशनका लागि संयोजक तोकिनु आफैमा विडम्बना भयो।’
पत्रकार सम्मेलनमा क्षेत्रका निवर्तमान सभापति तथा बुढीगंगा गाँउपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले सहमहामन्त्री कै कारण यति धेरै समस्या भएको बताए।
उनले भने, ‘अहिले एकपक्षीय रूपमा अधिवेशन गराउने तयारी भए पनि यसको नतिजा राम्रो देखिने छैन। साथीहरूलाई सहमतिमा आउन नदिने र सहमति गर्न नदिने अवस्था गराएर अधिवेशन गराउनुको कुनै औचित्य छैन। यो अवस्थामा शीर्ष तहका नेताहरुले मिलेर सहजीकरण गर्नुपर्ने हो। समस्याको हल खोज्नु पर्ने हो। तर यहाँ उल्टै अधिवेशन गरी साथीहरूलाई पाखा लगाउने काम भइरहेको छ।’
एकपक्षीय हुँदा त्यसको असर आउने स्थानीय र प्रदेश तह निर्वाचनमा देखिन सक्ने हुँदा समस्याको हल नखोजी जबरजस्ती अधिवेशन गर्न नहुने थापाले बताए।
सुध्रिएको कांग्रेसमा पुरानै स्थित र हताश मानसिकता नै देखिएको बताउँदै,सुन्दरहरैँचा–६ का वडाध्यक्ष सञ्जीव राईले भने, ‘हामीले चाहेको अधिवेशन विवाद, झडप रहित शान्तिपूर्ण हो। तर, एकपक्षीय हिसाबले गरेको अधिवेशनमा प्रतिनिधिहरू पुगेर विवाद सिर्जना गरेपछि हुने स्थितिको जिम्मेवारी कसले लिने ? यति मात्र कुरा हो, कि सबैलाई समेटेर अघि बढ्ने वातावरण सहमहामन्त्रीले बनाउनु पर्यो। पेलेर वा हेपाहा प्रवृत्तिले निकास निस्कँदैन।’
उनीहरूले संग्रौलाको पहल तथा भूमिकाका कारण क्रियाशील सदस्यता एकलौटी ढंगले भरिएको आरोप लगाउँदै त्यसकै कारण क्षेत्र नम्बर ६ मा विवाद उत्पन्न भएको दाबी गरेका छन्। मोरङ क्षेत्र नम्बर ६ मा कूल २० वटा वडाका ९ सय बढी प्रतिनिधि रहेका छन्।
प्रकाशित: १६ आश्विन २०८३ १५:५२ शुक्रबार