राजनीति

कुर्सीमा बसेर कागज हेर्न भन्नुहुन्छ भने तपाईं गलत युगमा हुनुहुन्छ : गृहमन्त्री

गृहमन्त्री सुदन गुरुङले आफूहरुलाई पुरानै कार्यशैली अपनाउन दबाब दिइएको भन्दै आपत्ती जनाएका छन्।

विपद्को बेलामा पनि गृहमन्त्रीले स्टन्ट गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले आधुनिक नेतृत्वलाई कार्यालयको कुर्सीमा बसेर मात्र काम गर्ने पुरानो सोचसँग जोडेर हेर्न नहुने बताए।

शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (GENERATION GAP)।’ 

विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको बताउँदै उनले यसमा चिन्ता लिनु नपर्ने बताए। ‘अनलाइनबाट हामी हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ’ उनले भने।

विगतमा फिल्डको वास्तविक अवस्था नबुझी कार्यालयमै बसेर नेतृत्व गर्दा अपेक्षित नतिजा प्राप्त हुन नसकेको अनुभव रहेको बताउँदै उनले भने,‘ वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी  कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ। उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ।’

उनले नेतृत्वको मूल्याङ्कन व्यक्ति कहाँ बसेर काम गरिरहेको आधारमा नभई कामको परिणामका आधारमा हुने बताए। ‘टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ। त्यसैले म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनु अनुरोध गर्नु चाहन्छु’, उनले भने।

प्रकाशित: १९ भाद्र २०८३ १३:२१ शुक्रबार