राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनतासँग गरेको बाचा पूरा गर्न नसकेमा जनताले आफ्नै चुनाव चिह्न ‘घन्टी’ प्रयोग गरेर आफूहरूलाई नै दण्डित गर्न सक्ने बताएका छन्।
बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी ‘वाचा पत्र २०८२’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सङ्कल्प व्यक्त गरेका हुन्।
सभापति लामिछानेले आफ्नो पार्टी निर्वाचन र लोकतान्त्रिक विधिप्रति पूर्ण रूपमा जिम्मेवार रहेको बताए। उनले भने, ‘अहिले तपाईंहरूले परिवर्तनका लागि घन्टी बजाउनुहोस्। तर, हामीले ५ वर्ष सरकार चलाउने मौका पाएर पनि काम गरेर देखाउन सकेनौं भने राजनीतिक रूपमा यही घन्टीले हामीलाई नै बजाउनुहोला, हामीलाई केही फरक पर्दैन।’
लामिछानेले रास्वपाले सार्वजनिक गरेको १०० वटा नीतिगत आधारहरू केवल चुनावी नारा मात्र नभई नागरिकसँग गरिएको एउटा ‘करार’ भएको दाबी गरे।
‘करार गर्नेले काम पूरा गर्नुपर्छ, यदि पूरा गर्न सकेन भने उसले सजाय भोग्नुपर्छ। हामी नागरिकसँग गरिएको यो सम्झौता कार्यान्वयन गर्न तयार छौं,’ उनले भने।
मुलुकलाई अस्थिरताबाट जोगाउन बहुमतको स्थायी सरकार आवश्यक रहेकोमा जोड दिँदै लामिछानेले ५ वर्षका लागि स्पष्ट जनादेश माग गरे।
उनले भने, ‘एउटा देश, एउटा झण्डा, एउटा चुनाव चिह्न र एउटा प्रधानमन्त्री भएको सरकारलाई ५ वर्ष काम गर्न दिनुहोस्। हामीले काम गर्न सकेनौं भने तपाईंहरूले भन्ने अधिकार रहनेछ कि तिमीहरूले काम गर्न सकेनौं।’
प्रकाशित: ७ फाल्गुन २०८२ १६:४९ बिहीबार