राजनीति

पुराना दलले डेलिभरी दिएको भए हाम्रो आवश्यकता हुने थिएन: समीक्षा

तस्बिर: बिमला रोक्का/नागरिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ समीक्षा बास्कोटाले पुराना राजनीतिक दलहरूले जनतालाई सुशासन र विकासको डेलिभरी दिन नसक्दा नयाँ दलहरूको आवश्यकता खड्किएको बताएकी छन्।

बिहीबार नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘क्रियटर्स च्याम्पियन ३.०’ कार्यक्रममा बोल्दै उनले राजनीतिलाई केवल विचार र वादमा सीमित राखिएको भन्दै असन्तुष्टि पोखिन्।

बास्कोटाले पुराना दलका नेताहरू राजनीतिमा धेरै अनुभवी र ट्यालेन्टेड भए पनि आम नागरिक र नयाँ पुस्ताको भावनासँग जोडिन नसकेको टिप्पणी गरिन्।

‘उहाँहरूका लागि राजनीतिक मुद्दा भनेको विचार मात्र हो,’ बास्कोटाले भनिन्, ‘तर विचारले मात्र सुशासन दिएको भए, भ्रष्टाचार अन्त्य गरिदिएको भए, देशमै रोजगारी सिर्जना गरिदिएको भए र शिक्षा, स्वास्थ्य तथा सार्वजनिक यातायातलाई सुलभ बनाइदिएको भए सायद आज हामी यो परिस्थितिमा हुने थिएनौँ। हाम्रो आवश्यकता नै हुने थिएन।’

उनले पुराना दल र आजका मतदाताबीच एज ग्यापसँगै सोचको अन्तर पनि रहेको बताइन्। ‘आजका मतदाता र नागरिकले हामीसँग किन कनेक्ट गर्न सक्नुहुन्छ भने, हामी त्यो जेनेरेसन ग्याप र माइन्डसेटलाई म्याच गर्छौँ,’ उनले भनिन्।

नेतृ बास्कोटाले आफ्नो पार्टीले पानीजहाज चलाउने जस्ता ठूला र आधारहीन सपना नबाँड्ने स्पष्ट पारिन्।

उनले भनिन्, ‘हाम्रो वाचापत्रमा पानीजहाज ल्याएर कुदाइहाल्छौँ भन्ने छैन। तर, हामी सेवा प्रवाह सुचारु गर्ने, डिजिटलाइजेसन गर्ने र जनताका कामकाजलाई सरल बनाउने कुरामा विश्वास गर्छौँ।’

डिजिटल भोटिङ र विदेशमा रहेका नेपालीको मताधिकारको विषयलाई पुराना दलले नयाँपनको ढर्रा ठाने पनि त्यो २१औँ शताब्दीको आवश्यकता भएको उनको भनाइ थियो।

प्रकाशित: २९ माघ २०८२ १९:२२ बिहीबार