राजनीति

सरकारले मुख चलाएको जति काम गरेको भए धेरैको ज्यान बच्थ्यो: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले भाषण र कुरा गरेजति काम गरेको भए भोटेकोसी बाढीमा धेरै नागरिकको ज्यान बचाउन सकिने बताएका छन्।

बाढीग्रस्त रसुवाको स्थलगत अवलोकनपछि मंगलबार सामाजिक सञ्जालमार्फत उनले कमजोर पूर्वतयारी, सुस्त उद्धार र उपकरणविहीन सरकारले काम गरेको सुनाए।

रसुवाको धुन्चेमा रहेका साम्पाङले आफू स्याफ्रुबेँसीसम्म पुगेर फर्किएको र बाढीले पहाडै भत्काएर लगेको हृदयविदारक दृश्य देखेको बताए।

‘सरकारले मुख चलाएको जति काम पनि गरिदिएको भए यो विपद्‌मा धेरैको ज्यान बच्न सक्थ्यो,’ साम्पाङले भने, ‘विपद् व्यवस्थापनमा सरकारले जस्तो नतिजा दिन सक्नुपर्थ्यो, त्यस्तो पटक्कै देखिएन।’

चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना श्रमिक फसेको प्रसंग कोट्याउँदै उनले उद्धारमा खटिएका सुरक्षाकर्मीलाई सरकारले आधारभूत स्रोतसाधनसमेत नदिएको आरोप लगाए।

‘सुरुङ खोल्न लगेको जेनेरेटर नै गतिलो भएन, कामै लागेन। अहिले बल्ल बिजुलीको लाइन टाँगेर काम गरिँदै छ,’ साम्पाङले भने, ‘उद्धारमा खटिएका सेना-प्रहरीलाई एउटा गतिलो गैंती र बेल्चासमेत नदिई पठाएर पनि उद्धार हुन्छ ?’

विपद्‌को १४ दिन बितिसक्दा पनि नागरिकहरू नदीमा लट्ठा तानेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै उनले कम्तीमा १५ हजार सुरक्षाकर्मीलाई अत्याधुनिक उपकरणसहित परिचालन गर्नुपर्ने बताए।

‘राहत सामग्री एक ठाउँमा थुप्रिएको छ, तर दुर्गम गाउँसम्म पुगेको छैन। मानिसहरूले अझै भात खान पाएका छैनन्,’ उनले थपे, ‘हेलिकप्टर प्रभावकारी रूपमा परिचालन हुन सकेको छैन।’

राहतका नाममा संकलित रकमको खर्च पूर्ण रूपमा पारदर्शी हुनुपर्ने माग गर्दै उनले घरबारविहीन नागरिकको पुनःस्थापना र अस्थायी शिविर बनेका विद्यालयहरू सुचारु गर्न सरकारलाई गम्भीर बन्न आग्रह गरे।

आफू सरकारको आलोचना गर्न नभई पीडितलाई सहयोग पुर्‍याउने ‘हेल्पिङ रोल’ लिएर रसुवाको मैदानमा खटिएको साम्पाङले सुनाए। 

प्रकाशित: २३ भाद्र २०८३ २१:२४ मंगलबार