राजनीति

मधेस झुक्यो भने अधिकार सुक्छ: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सुनियोजित रूपमा भ्रम फैलिएको भन्दै अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।

सप्तरी निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले निर्वाचन प्रचारप्रसारको अन्तिम दिन सार्वजनिक अपिल जारी गर्दै षड्यन्त्रपूर्ण जालझेलबाट सचेत रहन आग्रह गरेका हुन्।

अध्यक्ष यादवले निर्णायक समयमा जनताको मतलाई कमजोर पार्न विभिन्न शक्तिहरू सक्रिय भएको दाबी गरे। उनले भने, ‘योजनाबद्ध रूपमा फैलाइएको क्षणिक भ्रमले इतिहास बिर्सन लगाउन खोजिएको छ। तर सचेत मतदाता भ्रमित हुँदैनन्, उनीहरूले आफ्नो संघर्ष र इतिहास सम्झन्छन्।’

मतदातालाई क्षणिक प्रलोभनमा नपर्न आग्रह गर्दै यादवले स्वाभिमान र अधिकारको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरे। ‘आफ्नो त्याग, इतिहास र स्वाभिमानलाई सम्झनुहोस्। अधिकारको रक्षा गर्ने निर्णय लिनुहोस्,’ उनले भने, ‘सचेत मत, बलियो मधेस र सुरक्षित भविष्य नै हाम्रो साझा संकल्प हो।’

मधेसको अधिकार, पहिचान र स्वाभिमान कसैको दान नभई लामो बलिदानीपूर्ण संघर्षको उपलब्धि भएको उनले स्मरण गराए।

‘यो अधिकार कसैले उपहार दिएको होइन, मधेसले सडक र संसद्‌मा लडेर हासिल गरेको हो,’ अध्यक्ष यादवले भने, ‘मधेसको दुःखसुख, आँसु र संघर्षमा निरन्तर साथ दिने एउटै शक्ति जसपा नेपाल हो।’

संघीयता, स्वायत्तता र लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहन आग्रह गर्दै उनले आसन्न निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई मधेसको भविष्यको दिशानिर्देश गर्ने अवसर भएको बताए।

मधेसलाई कमजोर पार्ने षड्यन्त्र अन्ततः संघीयतालाई नै कमजोर बनाउने योजना रहेको उनको जिकिर छ। ‘यदि हामी चुक्यौँ भने अधिकार संकुचित हुन्छ, तर दृढ भयौँ भने इतिहास सुरक्षित रहन्छ,’ यादवले भने, ‘मधेस झुक्यो भने अधिकार सुक्छ, मधेस उठ्यो भने लोकतन्त्र मजबुत हुन्छ।’

प्रकाशित: १८ फाल्गुन २०८२ १८:०४ सोमबार