राजनीति

मदन भण्डारी जीवित भएको भए समाजवादको नयाँ चरण सुरु गर्नुहुन्थ्यो: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले जननेता मदन भण्डारी जीवित रहेको भए समाजवादको नयाँ चरणअनुसार पार्टीका नीति तथा कार्यक्रम परिमार्जन गर्ने बताएका छन्।

आइतबार नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भण्डारीलाई अत्यन्तै गतिशील, सिर्जनशील र परिस्थिति विश्लेषण गर्न सक्ने नेताका रूपमा स्मरण गरे।

‘अत्यन्त गतिशील, सिर्जनशील र परिस्थितिमा आउने हेरफेरसँगै आफ्ना नीति कार्यक्रममा पनि हेरफेर गर्न सक्ने हिम्मत भएको नेता हुनुको नाताले अहिले उहाँ जीवित भएको भए आफ्ना नीति कार्यक्रमलाई विकसित गर्नुहुन्थ्यो,’ संयोजक दाहालले भने।

भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खाएको कठिन परिस्थितिमा भण्डारीले खेलेको भूमिकाको उच्च प्रशंसा गरे।

सोभियत संघको विघटन र पूर्वी युरोपमा समाजवादी सत्ताहरू ढलेको बेला नेपालमा कम्युनिस्ट आन्दोलनलाई जीवन्त राख्न भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ मार्फत ऐतिहासिक र सर्वसम्मत भूमिका खेलेको उनले बताए।

मार्क्सवाद  कुनै धर्मशास्त्र नभई निरन्तर विकास हुने विज्ञान भएको दाहालको भनाइ छ। उनले लेनिन र एंगेल्सको सिद्धान्तलाई उद्धृत गर्दै परिवर्तन र द्वन्द्ववादबाहेक अरू केही पनि निरपेक्ष नहुने बताए।

‘मार्क्सवादलाई नै पनि धर्मशास्त्र जस्तो गरेर सर्वकालिक हो र यसमा कुनै सुधारको गुन्जाइस छैन भनेर बुझियो भने त्यो माक्र्सवादी हुनु होइन,’ उनले भने, ‘हामी कम्युनिस्ट आन्दोलनमा धेरैजसो जडता र यान्त्रिकतामा फस्ने गरेका छौं।’

पुँजीवादी जनवादी क्रान्ति नेपाली मौलिकतामा आधारभूत रूपले पूरा भइसकेको उल्लेख गर्दै उनले अब नेपाली समाज समाजवादको नयाँ चरणमा प्रवेश गरेको बताए। नयाँ संविधान निर्माण गर्दा नै राज्य ‘समाजवादोन्मुख’ हुनेछ भनेर लिपिबद्ध गरिएको उनले स्मरण गराए।

उनले हिजो कुन उद्देश्यले के भनिएको थियो र आज किन विकास गर्नुपर्नेछ भन्ने विषयमा खुला छलफल हुनुपर्नेमा जोड दिए।

प्रकाशित: १४ असार २०८३ १६:०४ आइतबार